अन्तर्राष्ट्रिय संरक्षण दिवसमा गिद्ध गणना



जाजरकोट, (नेस)  ।

जाजरकोटको बारेकोट गाउँपालिकाले बाह्रौं अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस गिद्धको गणना गरी अन्तरक्रिया कार्यक्रमका साथ मनाएको हो ।

भेरी नगरपालिका, नलगाड नगरपालिका, छेडागाड नगरपालिका, कुुुसे गाउँपालिका र बारेकोट गाउँपालिकामा एक महिना लगाएर गिद्धको गणना गरिएको पन्छी संरक्षण आजीवन सदस्य गोविन्दबहादुर सिंहको कथन छ । जाजरकोटका विभिन्न स्थानमा रहेका विश्वमै दुर्लभ सुन गिद्ध ४ वटा गुँड १ वटा, सेतो गिद्ध ६ गुँड ३ वटा, हिमाली गिद्ध ७६ गुँड ३३ वटा, हाडफोर गिद्ध ८ गुँड ३ र राजगिद्ध २ वटा गणना गरेको सिंहले बताउनुभयो ।

प्रकृतिको कुचिकारका रूपमा रहेको गिद्ध मासंहारी भएकाले आफैं मारेर नखाने, मरेको पशुपन्छीको सिनो खाने, वरपर रहेको फोहोर पदार्थ मानिसलाई हानी पुर्‍याउने सडेगलेको मासु खाएर वातावरणलाई प्रदूषित हुनबाट जोगाउने, दुर्गन्धित र रोगमुक्त बनाउन गिद्धको महत्वपूर्ण योगदान भएकाले सरोकारवाला निकाय, बुद्धिजीवीलाई यसको संरक्षणमा लाग्न बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले आग्रह गर्नुभयो ।

हिन्दू धर्मवलम्बीले गिद्धलाई शनि देवको वाहनका रूपमा पूजा गर्ने गर्छन् । विश्वमा २३ प्रजातिका गिद्ध पाइन्छ भने नेपालमा ९ प्रजातिका गिद्ध छन् । गिद्ध अग्ला बलिया रुख चट्टानी पहाडमा मानवबस्ती वरपर बस्न उचाउने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्