कम्पोष्ट मल बनाउन बाल्टीन वितरण



अमृत अर्याल, स्याङजा ।

स्थानीयहरुको घर घरबाट निस्कने फोहोर व्यवस्थापन गर्न पुतलीबजार नगरपालिकाले एक कार्यक्रमका विच कम्पोष्ट मल बनाउन मिल्ने बाल्टीन वितरण गरेको छ । पुतलीबजार नगरपालिकाको ५० प्रतिशत लगानीमा करिब १ सय ५० थान कम्पोष्ट मल बनाउन मिल्ने बाल्टीन वितरण गरेको हो ।

नगरपालिकाले कृषकहरुको चाहाना अनुसार काम गर्दै आएको बताउदै पुतलीबजारकी नगरप्रमुख सिमा कुमारी क्षेत्रीले कम्पोष्ट मलले कौसीमा तरकारी खेती गर्दै आएका कृषकहरुलाई टेवा पुग्ने बताउनुभयो । पुतलीबजार नगरपालिकामा महिला गृहिणीहरुले कौसीमा तरकारी खेती गर्दै आएका छन् ।

नगरप्रमुख क्षेत्रीले कम्पोष्ट मल बनाउने हरियो बाल्टीन वितरण प्रभावकारी भएमा अन्य वडाका किसानहरुलाई पनि हरियो बाल्टीन वितरण गर्ने जानकारी दिनुभयो । नगरपालिकाले पहिलो चरणमा पुतलीबजार नगरपालिकाका १, ३ र १० नं.का वडाहरुमा रहेका किसानहरुलाई वितरण गरेको थियो । मेयर क्षेत्रीले नगरपालिकाले वितरण गरेका सबै प्रकारका सेवा तथा सुविधाहरुलाई भरपुर तरिकाले उपयोग गर्न कृषकहरुलाई अनुरोध गर्नुभयो । उहाँले नगरपालिकाले गरेका क्रियाकलापहरुलाई सबैले सहयोग गरेर सफल बनाउनु पर्नेमा जोड दिदै रचनात्मक सुझाव दिन कृषकहरुलाई आग्रह गर्नुभयो ।

कम्पोष्ट (झोल) मल बनाउने तरिका सिकाउन उद्यम चौतारीका संचालक ऋषीराम पौडेलले सहजीकरण गर्नुभएको थियो । पौडेलले भान्सा कोठाबाट निस्कने फोहोरबाट झोल मल बनाउन सकिने जानकारी दिदै गृहिणी महिलाहरुले मल बनाएर करेसावारीमा प्रयोग गर्न सक्ने बताउनुभयो । कौसीमा तरकारी खेती गर्दै आएकी पुतलीबजार नगरपालिका ३ शिक्षाचोककी इन्द्रा कुमारी सिंहले झोल मल उत्पादन भए सगै तरकारी खेती विस्तार गर्ने बताउनुभयो । उहाँले पुतलीबजार नगरपालिकाले कम्पोष्ट मल तयार गर्ने बाल्टीन दिएर राम्रो काम गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्