आन्दोलनमा बोर्डिङका शिक्षक

‘तलब दिन सकिन्न’



नेपाल समाचारपत्र, हेटौंडा
भदौदेखि तलब दिन नसकिने भन्दै प्याब्सन मकवानपुरले जानकारी गराएपछि संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) ले प्याब्सनको ध्यानाकर्षण गराउँदै त्यसको विरोधमा आन्दोलन थाल्ने भएको छ ।

इस्टु जिल्ला संघर्ष समितिले प्रस्ताव गरेका आन्दोलन ढाँचालाई जिल्ला तथा नगर कमिटी सचिवालय बैठकले अनुमोदन गरी आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

भदौ २० गते बिहान ८ बजे प्याब्सन कार्यालयमा तालाबन्दी, २१ गतेबाट २०७६ साल चैतसम्मको तलब निकासी नगर्ने विद्यालयको नामावली प्रत्येक दिन प्रकाशन गर्दै सेवा–सुविधा निकासाका लागि ३ दिन समय दिने र त्यसो नभए सम्बन्धित विद्यालय तालाबन्दी गरिने भएको छ ।

कालोसूचीमा परेका विद्यालयमा तालाबन्दीपछि प्याब्सन अध्यक्ष तथा नगर अध्यक्षको विद्यालयमा तालाबन्दी गर्दै थप आन्दोलनका कार्यक्रम घोषणा गरिने इस्टु जिल्ला अध्यक्ष सचिन लामाले बताउनुभयो ।

शुक्रबार बेलुकासम्मको शून्य समयमा वार्ता र छलफलका माध्यमबाट वर्तमानमा देखिएका समस्याको समाधान निकाल्न सकिने वातावरण सिर्जना गर्न प्याब्सन मकवानपुर जिल्ला र नगर कमिटीलाई आग्रह गरिएको इस्टु नगर अध्यक्ष सीएम रिमालले बताउनुभयो ।

‘हाम्रो विनम्रतालाई कमजोरी ठानी सौहार्दपूर्ण वार्ता गर्ने प्रयाससमेत नगरिए शनिबार बिहानदेखि इस्टु आन्दोलन अघि बढ्नेछ ।’ –उहाँले भन्नुभयो । आन्दोलनका क्रममा घट्ने अप्रिय घटना, भौतिक, शैक्षिक एवं अन्य सम्पूर्ण क्षतिको जिम्मेवार प्याब्सन मकवानपुर नै हुने चेतावनी दिइएको छ ।

हालसम्म जेनतेन गरेर पनि तलब खुवाइरहेको अवस्थामा भदौदेखि तलब खुवाउनै नसक्ने भएको निजी विद्यालयले जनाएका छन् । प्याब्सन मकवानपुर र हेटौंडा नगर समितिले विज्ञप्ति जारी गर्दै भदौदेखि शिक्षक तथा कर्मचारीको तलबभत्ता दिन नसक्ने बताएका थिए । कोरोनाका कारण विद्यालय वैशाखबाट बन्द रहेकाले भदौदेखि शिक्षक तथा कर्मचारीको तलबभत्ता दिन नसक्ने उद्घोष गरिएको थियो ।

प्याब्सन मकवानपुरका कार्यवाहक अध्यक्ष विनोद सुवेदी र प्याब्सन नगर कार्यसमिति हेटौंडा अध्यक्ष राजकुमार नहर्कीद्वारा जारी विज्ञप्तिमा वैकल्पिक शिक्षण सिकाइका माध्यमद्वारा विद्यार्थीको पठनपाठनलाई निरन्तरता दिइए पनि मासिक शुल्क नउठ्दा शिक्षक र कर्मचारीलाई तलब दिन सक्ने अवस्था नभएको बताइएको छ ।

कोरोनाका कारण नयाँ शैक्षिक सत्रको शुरूबाट विद्यालय बन्द रहे पनि वैकल्पिक शिक्षण सिकाइमार्फत निजी विद्यालयले पठनपाठन गरिरहेको उल्लेख गर्दै विज्ञप्तिमा चैतसम्म सबै निजी विद्यालयले सबै शिक्षक र कर्मचारीको आर्थिक दायित्व चुक्ता गरिसकेको उल्लेख छ । वैशाखदेखि साउन महिनासम्म विद्यालयले व्यावहारिकरूपमा केही रकम शिक्षक र कर्मचारीलाई उपलब्ध गराएकोमा भदौदेखि दिन सक्ने अवस्था नरहेको विज्ञप्तिमा लेखिएको छ ।

प्याब्सन मकवानपुरले अभिभावकबाट मासिक शुल्क नउठेकाले भदौबाट शिक्षक र कर्मचारीलाई तलब दिन नसक्ने भनेकै दिन निजी विद्यालयका शिक्षकले ‘तलब नदिए पढाउन नसक्ने’ बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्