दृष्टिविहिन बालबालिका अनलाइन शिक्षाबाट बञ्चित



OLYMPUS DIGITAL CAMERA

न्युज अफ नेपाल, पर्वत ।

पर्वतको एक मात्र दृष्टिविहिन बालालिका अध्ययनरत शिवालय माविका विद्यार्थीहरु विद्यालयले सञ्चालन गरेको अनलाईन शिक्षाबाट बञ्चित बनेका छन् ।

विद्यालयले सञ्चालन गरेको दृष्टिविहिन स्रोत कक्षामा अध्ययनरत १८ जना दृष्टिविहिन बालबालिका अनलाईन शिक्षा लिन नपाएका हुन् ।
लामो समयको कोभिड १९ का कारण विद्यालय शिक्षा बन्द भएपछि विद्यालयले अनलाई विधि मार्फत पठन पाठन शुरु गरेपनि दृष्टिविहिन बालबालिकाहरुको पहुँचमा पुग्न सकेको छैन । ‘अनलाईन कक्षामा दृष्टिविहिन बालबालिकालाई समेट्न नसक्दा समस्या भएको छ’ विद्यालयका प्रधानध्यापक भुपेन्द्र चापागाई भन्नुभयो ‘दृष्टिविहिन बालबालिकाहरुमा सञ्चारप्रविधिको सहज पहुँच नहुँदा समस्या भएको छ ।’

छात्राबासमा बसेर अध्ययन गर्दै आएका १८ जना बालबालिका अहिले कोभिड १९ कै कारण घर फर्केका छन् । दृष्टिविहिन स्रोत कक्षामा अहिले पर्वत सहित म्याग्दी, बागलुङ, तनहुँ र गुल्मीका विद्यार्थीहरु रहेका छन् । विद्यालयमा अध्ययन गर्ने सवै जसो बालबालिकाको पारिवारीक आर्थिक अवस्था न्यून रहेका कारण दैनिक जसो मोबाइलमा रिचार्ज गरेर पठनपाठनमा सहभागी हुने अवस्था नरहेकाले समस्या भएको प्रअ चापागाईले जानकारी दिनुभयो ।

विद्यालयले समय समयमा सम्पर्क गरेपनि अनलाइन कक्षामा सहभागी गराउन नसकिएको दृष्टिविहिन स्रोत कक्षाका शिक्षक हरिदत्त शर्माले बताउनुभयो । ‘फोन गरेर अनलाइन कक्षामा सहभागी हुन आग्रह गर्दा मोबाइलमा पैसा नभएको गुनासो गर्छन्’ शिक्षक शर्माले भन्नुभयो ‘विद्यालयले उनीहरुलाई रिचार्ज गरेर पठनपाठनमा सहभागी गराउने अवस्था छैन’ विद्यालयमा कक्षा ९ मा अध्ययनरत पर्वतको महाशिला गाउँपालिका ५ लुंखुका होमबहादुर क्षेत्रीले आफुसँग पैसा नभएका कारण अनलाईन कक्षामा पढ्न नसकेको गुनासो गर्नुभयो । ‘घरमा मोबाइलमा रिचार्ज राख्ने पैसा पनि छैन’ उहाँले भन्नुभयो ‘अनलाईन कक्षामा पढ्न सरहरुले भन्नुहुन्छ तर इन्टरनेट चलाउनका लागि मोबाइलमा राख्ने पैसा हुँदैन’ नगरपालिकालाई दृष्टिविहिन विद्यार्थीलाई पठन पाठनका लागि सहयोग गरिदिन आग्रह गर्दा पनि कुनै सुनुवाई नगरेको प्रअ चापागाईले बताउनुभयो ।

यता कोरोना संक्रमणका कारण विद्यार्थीहरु छात्रबासबाट बाहिरिएपछि नगर शिक्षा शाखाबाट मासिक रुपमा प्राप्त हुने रकम समेत रोकिएको छ । विशेषत नगर शिक्षा शाखाले दृष्टिविहिन विद्यार्थीहरुका लागि आवास खर्च स्वरुप प्रतिव्यक्ति मासिक चार हजार रुपैँया प्रदान गर्दै आएको थियो । ‘लक डाउनका कारण विद्यालय बन्द भएपछि उक्त रकम नपठाएका हौँ’ कुश्मा नगरपालिका नगर शिक्षा प्रमुख विष्णु तिवारीले भन्नुभयो ‘छात्राबासमा नै विद्यार्थी नभएपछि बैशाख देखि हालसम्म उक्त रकम नपठाएका हौँ’ उहाँले विद्यालय सञ्चालनमा आएपछि मात्रै रकम पठाउने बताए ।

प्रतिक्रिया दिनुहोस्