ट्रक दुर्घटनामा एकको मृत्यु



न्युज अफ नेपाल, पाल्पा ।

पूर्वी पाल्पाको रामपुरमा भएको ट्रक दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

रामपुर नगरपालिका टुनी भञ्ज्याङ्गमा बुटवलबाट रामपुर आउँदै गरेको बाग्मती प्रदेश ०३००१००७१ नम्बरको मिनि ट्रक विहीवार दुर्घटना हुदा सर्लाही जिल्ला बागमती नगरपालिका ७ घर भएका ३० वर्षका सन्तोष गहतराजको मृत्यु भएको ईलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

उनको घटनास्थलमा नै मृत्यु भएको हो कालीगण्डकी करिडोरका लागि तार जाली सहित सामान लिएर रामपुर आउँदै गरेको सो ट्रक सडकबाट एक सय ५० मिटर तल खसेको वताइएको छ । सो ट्रकमा चालक सहित तीन जना सवार रहेका थिए । अर्का एक जना भने सामान्य घाइते रहेको प्रहरीले जनाएको छ । चालक भने फरार रहेका छन् । उनको खोजी कार्य जारी रहेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

ढुंगाले लागेर घाइते भएकी बालिकाको मृत्यु :  

यसैविच जिल्लाको तिनाउ गाउँपालिका ३ श्रीडाँडामा घरमाथिबाट खसेको ढुंगाले लागेर घाइते भएकी ३ वर्षीया बालिका करिश्मा चौहानको विहीवार उपचारको क्रममा मृत्यु भएको छ । अविरल वर्षाका कारण गोविन्द्र सोमैको घर माथिको पहाडबाट खसेको ढुंगाले लाग्दा माथागढी गाउँपालिका ७ रहवासकी बालिकाको उपचारको क्रममा बिहीबार विहान मृत्यु भएको हो । रुपन्देहीको बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा उपचार गराइरहेकी उनको उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मदन गिरीले बताउनु भयो ।

बालिकाकी आमा २९ वर्षीया समीक्षा चौहानको मंगलबार राति नै निधन भएको थियो । तीज मान्न माइत आएका आमाछोरी घरमाथिबाट आएको ढुंगाले लागेर घाइते भएका थिए । मंगलबार साँझ उनीहरु माइती घरको छिमेकीकहाँ मोबाइल चार्ज गरी बसेको अवस्थामा माथिबाट ढुंगा आइ घरको छानो टिन सहित च्यापेको थियो ।

प्रतिक्रिया दिनुहोस्