कृषि, भेटनरी र पशुसेवा लगायतका कार्यालय समायोजन नगर्न माग



पुष्कर बुढाथोकी, भक्तपुर ।

भक्तपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले प्रदेश सरकासँग कृषि, भेटनरी तथा पशुसेवा लगायतका कार्यालयहरु समायोजन कार्य अगाडि नबढाउन माग गरेको छ ।

संघले आज बागमति प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेललाई ध्यानाकर्षण पत्र पठाउँदै वागमती प्रदेशबाट प्रदेशभरीका कृषि, भेटनरी तथा पशुसेवाका सम्पूर्ण निकाय एवं कार्यालयहरुलाई एकिकृत गरी एकद्धार प्रणालीबाट सेवा दिने भन्ने विषय जानकारी आएकोमा संघको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

विश्व नै कोरोना भाइरसको महामारीबाट आक्रान्त भइरहेको अवस्थामा कृषि तथा पशुपालनका क्षेत्रमा थप सहयोग, अनुदान तथा घरघरमा प्राविधिक सेवा पुर्याउनुपर्नेमा कार्यालय समायोजनको विषयले गम्भिर बनाएको संघका अध्यक्ष हरिप्रसाद नेपालले बताउनुभयो ।

ध्यानाकर्षणपत्रमा भनिएको छ,‘संक्रमणले किसानहरुलाई अन्योलताको अवस्था सृजना गराएको छ ,कृषि तथा पशुजन्य उत्पादनहरुको विक्री वितरण हुन सकिरहेको छैन ,यसैगरी कृषिका लागि आवश्यक रासायनिक मल, विउविजन तथा पशुआहार पनि समयमै उपलब्ध हुन नसकेकोले सोचेजस्तो उत्पादन हुने देखिदैन यही अबस्थामा प्रदेश सरकारले यस्तो कदम चाल्नु किसानको हित बिपरीत छ ।’

कृषि उत्पादन तथा पशुपालनमा अग्रस्थानमा रहेको जिल्ला भक्तपुरका चारवटा नगरपालिकाका वडाहरुमा अझैं प्रयाप्त कृषि तथा पशुपालन सम्बन्धी ज्ञान तथा जानकारीहरु पुर्याउन नसकिरहेको अवस्थामा दुवै कार्यालयलाई एक बनाई कर्मचारी समेत समायोजनले कृषि तथा पशुपालनका क्षेत्रमा सहयोग पुग्ने अवस्था देखिदैन’ बिज्ञप्तिमा उल्लेख छ ।

संघले भूकम्पबाट विस्तारै अगाडि बढिरहेका किसानलाई फेरी कोरोना भाइरसले पिडा थपिदिएको भन्दै कृषि तथा पशुपालन गरिरहेका कृषकहरुको लागि अझै थप सहयोग, अनुदान तथा सहुलियतपूर्ण ऋण सहितका सहयोग कार्यक्रमहरु ल्याउनका लागि वागमती प्रदेश सरकारसँग माग गरेको छ ।

यस्तो बिषम परिस्थितिमा कार्यालय समायोजन कार्य अगाडि नबढाउनुहुन भक्तपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले माग गरेको अध्यक्ष नेपालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्