प्रहरीको फन्दामा हतियार देखाएर चन्दा असुल्ने गिरोह



सरोज यादव, विराटनगर

हतियार देखाएर विराटनगरका व्यापारीसँग रकम असुल्ने गिरोहलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । हतियार देखाएर व्यापारीसँग रकम असुल्दै आएको गिरोहका एक भारतीय र चार नेपालीलाई पक्राउ गरी प्रहरीले बुधबार सार्वजनिक गरेको हो ।

भदौ १६ गते कटहरी–२ आदर्शनगरका २८ वर्षीय एलेक्स भन्ने रविन शर्मा घरैबाट एकथान पेस्तोलसहित पक्राउ परेपछि गिरोह नै प्रहरीको नियन्त्रणमा आएको जनाइएको छ । शर्माको बयानको आधारमा सो गिरोहमा आबद्ध भारत सीतामणि घर भई विराटनगर जलजला मोडको चाइना बजारमा कामदारका रूपमा रहेका २७ वर्षीय राजु साह, कटहरी–२ का २६ वर्षीय किसन साह, २७ वर्षीय अभिषेक राय, सप्तरीको बोदेबसाइन नगरपालिका ८ बस्ने २७ वर्षीय नन्दु भन्ने नन्दकिशोर साह पक्राउ परेका प्रहरीले बतायो ।

भारतीय नागरिक राजुलाई रेम्बो गल्लीबाट, किसनलाई देवकोटा चौकबाट, अभिषेकलाई विराटनगर ३ मा बस्दै आएका नन्दकिशोरको कोठाबाट पक्राउ गरेको मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिनुभयो । उनीहरूले व्यापारीसँग पैसा माग्ने र नदिए हतियार देखाउँदै धम्की दिने गरेको अनुसन्धानबाट खुलेको छ । पक्राउ परेकामध्ये गिरोहको मुख्य नाइके अभिशेष राय रहेको प्रहरीको भनाइ छ ।

अभिषेकले २५ असारमा फोन गरी विराटनगरका एक व्यापारीसँग १० लाख रुपियाँ चन्दा मागेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रमुख एसपी खड्काका अनुसार ती व्यापारीले दुईपटक गरी ५ लाख रुपियाँ दिएको अनुसन्धानबाट खुलेको छ । गिरोहरूलाई पहिलोपटक विराटनगरको गुद्रीमा १ लाख र दोस्रोपटक नोबेल हस्पिटल जाने नहरमा ४ लाख रुपियाँ चन्दा दिएको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीले पेस्तोल र त्यसमा लाग्ने तीन थान गोली पनि बरामद गरेको छ । पहिलोपटक चन्दा माग्दा नदिएपछि उनीहरूले व्यापारीको घरमा गोली पनि प्रहार गरेको खुलेको छ । धम्काएको पहिलो व्यापारीबाट ५ लाख रुपियाँ असुलेपछि पक्राउ परेको गिरोहले दोस्रो व्यापारीलाई पनि धम्काएर १३ साउनमा चन्दा मागेका थिए । तर, ती व्यापारीले चन्दा दिन नपाउँदै प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूले मध्यम खालका व्यापारीलाई धम्काउने गरेको खुलेको छ । पक्राउ परेका अभियुक्तहरूलाई मोरङ प्रहरीले ‘हातहतियार खरखजना, अपराधिक लाभ, चोरी तथा संगठित अपराध’ मुद्दामा म्याद थप गरी अनुसन्धान शुरू गरेको एसपी खड्काले बताउनुभयो । पक्राउ परेको समूहले व्यापारीलाई धम्काउन भारतदेखि पेस्तोल र त्यसमा लाग्ने ६ राउन्ड गोली ल्याएको प्रहरीले अनुसन्धान खुल्न आएको छ । पक्राउ परेको गिरोहका मुख्य नाइके अभिशेष रायले पेस्तोल मगाएको र विराटनगरको कोशी प्रोजेक्टबाट पेस्तोल रिसिभ गरेको प्रहरीले जनाएको छ ।

पेस्तोल ल्याउने गिरोहको खोजी कार्यलाई पनि तीव्र बनाएको जनाएको छ । प्रहरीले एलेक्स भन्ने रविन शर्माको कटहरी–२ आदर्शनगर घरबाट अटोमेटिक पेस्तोल र तीन थान गोली बरामद गरेको हो । प्रहरीले उनीहरूको साथबाट ९७ हजार २ सय २० रुपियाँ नगद, विभिन्न कम्पनीको १६ थान मोबाइल, २ थान भारतीय बैंकको चेक, घटनामा प्रयोग भएको तीन थान मोटरसाइकल र १ थान चक्कु बरामद गरेको छ ।

व्यापारीलाई धम्काउने गिरोहले विराटनगरमा भएको चोरीको घटनामा पनि संलग्न भएको हुन सक्ने भएकाले प्रहरीले अनुसन्धान अगाडि बढाएको एसपी खड्काले बताउनुभयो । १५ भदौमा विराटनगरको चाइना बजारमा संचालक राम नरेश साहको घर फोरेर ११ लाख रुपियाँ चोरी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्