कलाकारले लागूऔषध सेवन गर्ने कंगनाको दाबीले बबाल



बलिउड अभिनेत्री कंगना रनावत फिल्म र अभिनयका कारण कम, आप्mना विभिन्न हर्कत र अभिव्यक्तिले ज्यादा चर्चा र विवादमा आउने गर्छिन्।

राम्रो या नराम्रो जेसुकै होस्, आफ्नो विचार निर्धक्कका साथ अरूका अगाडि राख्ने बानीका कारण उनले दर्शकको साथ र आलोचना एकसाथ पाउँदै आएकी छिन्। उनी आफ्ना यस्तै विचार र बोलीका कारण ट्रोल र विवादको शिकार हुन परेको घटना थुप्रै छन्। यसै क्रममा फेरि पनि कंगना यस्तै अभिव्यक्तिका कारण चर्चामा छिन्। एक अन्तर्वार्ता बलिउड फिल्म उद्योगका कलाकारबारे दिएको अभिव्यक्तिका कारण कंगना एकपटक फेरि चर्चामा आएकी छिन्।

अन्तर्वार्तामा कंगनाले बलिउडमा ९९ प्रतिशतभन्दा बढी कलाकार लागूऔषधको प्रयोग गर्ने दाबी गरेकी छिन्। उनको यो अन्तर्वार्ताप्रति वकिल महेश जेठमनालीले कलाकारहरूले कंगनाको भनाइमाथि मुख नखोलेकोप्रति सवाल उठाएपछि उनको भनाइमाथि केही सेलिब्रेटी तथा आम मानिसको धारणा आउन थालेको छ।

महेशले आफ्नो ट्विटमा लेखेका छन्– ‘यहाँ एक अभिनेत्रीले बलिउडका ९९ प्रतिशत मानिस नारकोटिक्स नामक ड्रग सेवन गर्छन् भन्दा पनि कसैले मुख खोलेका छैनन्। यसबाट दर्शकमा के सन्देश जान्छ ।’

उनको यो ट्विटमा रिट्विट गर्दै अभिनेत्री रविना टण्डनले केही बिग्रिएका स्याउले टोकरीको सबै स्याउ नबिगार्ने र बलिउडमा पनि राम्रा र नराम्रा दुवै थरीका मानिस रहेको बताएकी छिन्। कंगनाको ट्विटलाई लिएर सेलिब्रेटी तथा आम मानिसले आ–आफ्नो विचार व्यक्त गरिरहेका छन्। धेरैजसोले उनको अभिव्यक्तिप्रति गहिरो आपत्ति जनाएका छन्।

 

प्रतिक्रिया दिनुहोस्