पूर्वमन्त्री पासवान दुई दिनदेखि आमरण अनशनमा



सञ्जय कार्की, रौतहट

हिरासतमा यातना दिने प्रहरी अधिकारीलाई कारबाहीको माग राख्दै पूर्वमन्त्री विशेन्द्र पासवान आमरण अनशन बस्नुभएको छ ।

उहाँ हिरासतमा मृत्यु भएका गरुडा नगरपालिका–५ जिगडियाका विजय महरालाई यातना दिने प्रहरी अधिकारीमाथि कारबाहीको माग राख्दै इलाका प्रहरी कार्यालय गरुडाअगाडि अनशनमा बस्नुभएको हो ।

प्रहरी हिरासतमा दलित युवकको निधन भएपछि गरुडा बजार क्षेत्रमा आन्दोलन, धर्ना र अनशन निरन्तर भइरहेको छ । गएको साउन ३१ गते गरुडा नगरपालिका–८ जिगडियास्थित सच फलफूल नर्सरीमा कार्यरत १७ वर्षीय निरञ्जन रामको घाँटी रेटी हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय गरुडाले हिरासतमा लिएका विजय महरालाई चरम यातना दिएर मारेको भन्दै पूर्वमन्त्री विशेन्द्र पासवानसहित दलित समुदाय र स्थानीय बासिन्दा आन्दोलित हँुदै आएका छन् ।

महराको निधन भएपछि दलित समुदायले निरञ्जन राम र विजय राम हत्याकाण्ड जिल्ला संघर्ष समिति रौतहट गठन गरेर दैनिक आन्दोलन गर्दै आएका छन् । संघर्ष समितिले बुधबार पत्रकार सम्मेलन गर्दै विजय महराको हत्यामा संलग्न प्रहरी अधिकारीमाथि कारबाही हुनुपर्ने माग अघि सारेको छ ।

गृह मन्त्रालयले जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी निरीक्षक नवीन सिंह प्रदेश नम्बर २ प्रहरी कार्यालयले हबल्दारद्वय फिरोज मिया धुनिया र मुन्ना सिंहलाई निलम्बन गरिसकेको छ ।

मृतक महराका बुबा पनिलाल महराले तत्कालीन प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतो, प्रहरी निरीक्षक नवीन सिंह, प्रहरी नायब निरीक्षक वीरेन्द्र यादव, प्रहरी हवल्दारद्वय फिरोज मिया धुनिया र मुन्ना सिंहविरुद्ध इलाका प्रहरी कार्यालय गरुडामा दिएको यातना र ज्यानसम्बन्धी कसुरको जाहेरी दर्ता गर्न इन्कार गरेको संघर्ष समितिका संयोजक सोनेलाल रामले बताउनुभयो । उहाँले प्रहरीले निरञ्जन रामको हत्यापछि निर्दोष व्यक्तिलाई पक्राउ गरेर कर्तव्य ज्यान मुद्दा चलाएकाले अविलम्ब रिहाइको माग गर्नुभएको छ ।

उहाँले निरञ्जन रामको हत्या आरोपमा प्रहरीले निर्दोष रहेका सिकेन्द्र पासवान, अजय राम, विवेक राय यादव र अर्जुन रामलाई मुद्दा चलाएको भन्दै उनीहरुको रिहाइको माग गर्नुभएको हो । संघर्ष समितिले मृतक निरञ्जन राम र विजय महरालाई शहीद घोषणा गर्नुपर्ने, निरञ्जन रामको हत्याका योजनाकार लखन साह र राजगिर साहलाई तत्काल पक्राउ गर्नुपर्नेलगायतको माग राखेको छ ।

त्यसै गरी निरञ्जन राम र विजय महरा हत्याकाण्डको छानबिन गर्न मानव अधिकार आयोग र दलित आयोग सम्मिलित संसदीय उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने, मृतक निरञ्जन राम र विजय महराको सालिक निर्माण गर्नुपर्नेलगायतको माग राख्दै थप संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । सार्वजनिक गरिएका कार्यक्रममा कालोपटी बाँध्ने, जुलुस प्रदर्शन गर्नेदेखि जिल्ला प्रशासन कार्यालय घेराउ र मुख्यमन्त्रीको कार्यालयसमेत घेराउको कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्