लमजुङमा ‘निषेधाज्ञा’ एक हप्ता लम्बियो



शिक्षा पन्त, लमजुङ ।

कोरोना भाइरसको संक्रमण तीब्र्र रुपमा फैलिएकाले लमजुङमा ‘निषेधाज्ञा’को अवधि पुनःएक साताका लागि लम्बिएको छ । दुईसाता अघिदेखि जारी निषेधाज्ञा बुधबार साँझ ६ बजे सकिदै थियो । जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले एकसाताका लागि पुनः निषेधाज्ञा लम्बाइने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले ‘निषेधाज्ञा’ खुकुलो हुँदा संक्रमण बढेर अवस्था झन् भयावह बन्ने आंकलन गर्दै ‘निषेधाज्ञा’को अवधि एक साताका लागि लम्बाइएको जानकारी दिनुभयो । उहाँका अनुसार भदौ १७ गते बुधबारबाट आगामी २४ गते साँझ ६ बजेसम्मका लागि पुनः निषेधाज्ञा जारी रहने छ । । दैनिक संक्रमित बढेर अवस्था भयावह बन्दै गएपनि प्रजिअ शर्माले भन्नुभयो संक्रमण नियन्त्रणका लागि ‘निषेधाज्ञा’ प्रभावकारी भएको दाबी गर्नुभएको छ ।

अघिल्लो ‘निषेधाज्ञा’ प्रभावकारी भएकाले ‘निषेधाज्ञा’को अवधि पुनःएक साताका लागि लम्बाइएको उहाँको भनाई छ । लमजुङमा बुधबार मात्र १८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । यो सहित जिल्लामा कुल संक्रमितको संख्या २ सय ३३ पुगेको छ । जसमध्ये १ सय १३ जना निको भएर घर फर्किएका छन् भने १ सय २० जना आइसोलेसनमा रहेका छन् । प्रशासनले कोरना संक्रमण देखिएका बेसीशहर, सुन्दरबजार, राइनास, मध्यनेपाल नगरपालिका र क्ब्होँलासोँथर गाउँपालिकामा निषेधाज्ञा जारी गरेको छ ।

मस्र्याङ्दी र दोर्दी गाउँपालिकाले भने पालिकामा एकसातालाई निषेधाज्ञा जारी गराएका छन् । यस्तै बुधबारको संकट ब्यवस्थापन केन्द्रको बैठकको निर्णयअनुसार बेसिशहर नगरपालिकाको १,२,३,७र८ गरि ५ वडा , सुन्दरबजारका २, ५,६,७,८र९ गरि ६ वटा वडा, मध्यनेपालको २,३,४,६ र ७ गरि ५ वडा र क्वहोलासोथर गाउँपालिकाको १,२,३ र४ नम्बर वडालाई निषेधाज्ञा गरिएको हो । निषेधाज्ञाको अवधिमा खाद्यान्न, फलफूल, तरकारी, माछा, मासु, दूध, डेरीजन्य पसल बिहान ६ बजेदेखि ९ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

प्रतिक्रिया दिनुहोस्