६५६ जना सिटी तथा अटो चालकको पीसीआर परीक्षण



न्युज अफ नेपाल, भद्रपुर ।

सिटी तथा टेम्पो चालकहरु धेरै जोखिममा पर्नसक्ने कुरालाइ ध्यानमा राखेर बिर्तामोड नगरपालिकाले ६ सय ५६ जना सिटी तथा अटो चालकको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेको छ ।

समुदायमा कोरोना फैलिन नदिन नगरपालिकाले सिटी तथा अटो चालकको स्वाब संकलन गरेको हो । सिटी तथा टेम्पो चालकहरु धेरै जोखिममा छन् । त्यसकारण नगरप्रमुख धु्रबकुमार शिबाकोटीले सबै चालकको स्वाब संकलनको योजना बनाएको बिर्तामोड नगरका स्वास्थ्य फोकल पर्सन ओम खड्काले बताउँनुभयो ।

बिर्तामोड नगरले सञ्चालन गरेको क्वारेन्टिन समेत सुबिधासम्पन्न रहेको नगरप्रमुख शिवाकोटीले बताउँनुभयो । क्वारेन्टिन ब्यवस्थापन प्रभावकारी भएका कारण बिर्तामोड अरु पालिकाको तुलनामा सुरक्षित रहेको नगरप्रमुख शिबाकोटीको भनाइ छ । नगरपालिकाको कोरोना संक्रमण तथा रोकथाम समितिको समन्वयमा स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले अहोरात्र काम गरिरहेकोमा प्रसंसा गर्नुभएको छ ।

टेम्पो तथा सिटी रिक्सा चालकहरुका कारण आवतजावत हुने मानिसहरु पनि जोखिममा थिए । अब त्यो जोखिम कम हुने बिश्वास नगरको छ । बिर्तामोडमा अब चालकहरुले सवारीका साधन चलाउँदा पीसीआर रिपोर्ट अनिबार्य देखाउनुपर्ने प्रावधान अघि सारिएको छ ।

प्रतिक्रिया दिनुहोस्