मूलपानी टिम च्याम्पियन



काठमाडौं, (नेस)
मूलपानी तेक्वान्दो डोजाङ प्रथम काठमाडौं भर्चुअल राष्ट्रिय खुला तेक्वान्दो (पुम्से) प्रतियोगितामा टिम च्याम्पियन बनेको छ। ३ स्वर्ण, उत्ति नै रजत र ५ कांस्यसाथ मूलपानी टिम च्याम्पियन बनेको हो।

काठमाडौं जिल्ला तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगितामा १ स्वर्ण, २ रजत र १ कांस्यसहित चितवन दोस्रो भयो। समान १/१ स्वर्ण, रजत र कांस्य जितेको कैलालीले तेस्रो स्थानमा चित्त बुझायो। प्रतियोगितामा जम्मा ११ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो। स्युचाटार, सैनिक महाविद्यालय, विजेश्वरी, नेपाल प्रहरी, नेपाली सेना र रूपन्देहीले १–१ स्वर्ण हात पारे।

प्रतियोगिताको दोस्रो तथा अन्तिम दिन ५ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो। यू–१८ पुरुष एकलमा १३औं दक्षिण एसियाली खेलकुद (साग) का कांस्य विजेता अस्मिन राउतले स्वर्ण जितेका हुन्। स्युचाटारका अस्मिनले ६ दशमलव ५३ अंक जोडे। त्यस्तै, चितवनका अब्बास खान (५ दशमलव ९६) ले रजत तथा चितवनकै सागर बराल (५ दशमलव ८३) र कैलालीका लक्ष्मण श्रेष्ठ (५ दशमलव ६३) ले कांस्य जिते।

उक्त स्पर्धाको महिलामा सैनिककी रोशनी श्रेष्ठ सर्वाधिक ६ दशमलव ५० अंकका साथ पहिलो भइन्। चितवनकी जैनब खातुन (६ दशमलव २०) दोस्रो तथा मूलपानीकी अस्मिता नगरकोटी (६ दशमलव १३) र सुनसरीकी सुदेशना गुरुङ (५ दशमलव ७६) अंकका साथ तेस्रो भए।

यू–३१ पुरुष एकलमा प्रेमबहादुर लिम्बू शीर्ष स्थानमा रहे। त्यसैगरी, १३औं सागका कांस्यधारी प्रहरीका उनले ६ दशमलव ७३ अंक हासिल गरे। सेनाका दीपेन्द्र गुरुङ ६ दशमलव ५० अंकका साथ दोस्रो भए। दीपेन्द्र पनि १३औं सागका कांस्य विजेता हुन्। मूलपानीका पुष्पप्रसाद गौतम (६ दशमलव २०) तथा दोलखाका नोर्बु मोक्तान (५ दशमलव ९६) अंकका साथ संयुक्तरूपमा तेस्रो स्थानमा रहे।

सोही स्पर्धाको महिलामा १३औं सागका स्वर्ण विजेताद्वय नीता गुरुङ र सन्जिला तिम्सिनाबीच कडा प्रतिस्पर्धा भएको थियो। त्यसमा सेनाकी निताले बाजी मारिन्। ६ दशमलव ७० अंकका साथ नीताले स्वर्ण चुमिन भने स्युचाटारकी सन्जिलाले ६ दशमलव ५६ अंकका साथ रजतमा सीमित भइन्। मूलपानीकी चन्दु शाही (६ दशमलव १६) तथा दाङकी सुनिता विष्ट (५ दशमलव ४३) तेस्रो बने।

पुरुष–४१ वर्षमाथि मूलपानीका मधुसूदन सापकोटाले स्वर्ण जिते। उनले कुल ५ दशमलव ९० अंक प्राप्त गरे। ट्राभल व्यवसायी ४२ वर्षीय मधुसूदनले करिब ३ वर्षअघि मात्र तेक्वान्दो खेल्न शुरू गरेका थिए। कैलालीका आशिष चन्द (५ दशमलव ६०) दोस्रँे तथा रूपन्देहीका विकास उदय (५ दशमलव ४६) र गैरीगाउँका सोभितमान गिरी (५ दशमलव ४६)अंकका साथ तेस्रो भए। यो स्पर्धाको महिलामा कसैले पनि नाम दर्ता नगराएपछि स्पर्धालाई हटाइएको आयोजक संघका अध्यक्ष अशोक खड्काले जनाएका छन्।

दुईदिने प्रतियोगितामा १९ टिमका १ सय ७० खेलाडीको सहभागिता रहेको थियो। प्रतियोगितामा अध्यक्ष खड्कासहित मिन न्यौपाने, हिराबहादुर थापा, नोर्बु लामा र विक्रम खड्गीले निर्णायकको भूमिका निर्वाह गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्