ललितपुर महानगरले अपांगतामैत्री ‘क्याब’ ल्याउने



नेपाल समाचारपत्र, ललितपुर
अब अपांगता भएका व्यक्तिलाई हिँड्डुल धेरै सहज हुने भएको छ । ललितपुर महानगरपालिकाले अपांगतामैत्री ट्याक्सी (क्याब) ल्याउन लागेकाले उनीहरुको हिँड्डुलमा सहजता हुन लागेको हो । त्यस्तो ‘क्याब’ ल्याउनका लागि सोमबार ललितपुर महानगरपालिका, स्वावलम्बन जीवन पद्धति केन्द्र ललितपुर र स्वावलम्बन जीवन पद्धति केन्द्र, इरुका जापानबीच त्रिपक्षीय सम्झौता भएको छ ।
ललितपुर महानगरपालिकाले स्वावलम्बन जीवन पद्धति केन्द्र ललितपुर र स्वावलम्बन जीवन पद्धति केन्द्र इरुका जापानसँग समन्वय गरेर यो ‘क्याब’ ल्याउन लागेको हो ।
ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले अपांगता भएकाहरुको जीवनयापनलाई सहज बनाउन महानगरपालिकाले विशेष किसिमको ‘क्याब’ (हाललाई एउटा मात्र) ल्याउन लागेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘अपांगता भएकाहरुलाई अन्य सवारीसाधनमा हिँड्डुल गर्न धेरै गाह्रो छ, त्यसैले यस्तो क्याब ल्याउने निधो गरेका हौं ।’ यो क्याबमा ह्वीलचियरसहित चढ्न सकिन्छ । चारवटा ह्वीलचियरमा बसेका अपांगता भएका व्यक्ति र उनीहरुका सहयोगी अट्ने क्षमता यो क्याबको हुन्छ ।
ललितपुर महानगरपालिकाका अनुसार यसको सञ्चालनका लागि आवश्यक पर्ने निश्चित लिटर तेल, मेन्टिनेन्सन खर्च, सवारी करको खर्च महानगरले तिर्नेछ । सवारी चालकको व्यवस्था पनि महानगरले गर्नेछ । महानगरका प्रमुख चिरिबाबु महर्जनले भन्नुभयो– ‘यो ल्याउनुको मुख्य उद्देश्य उहाँहरुको सहजताको लागि हो, कुनै कार्यक्रम परेर धुलिखेल जानुप¥यो भने लान सक्नुहुन्छ ।’ कहाँ र कसरी सञ्चालन गर्ने भन्ने कुराको निर्णय स्वावलम्बन जीवन पद्धति केन्द्र ललितपुरले गर्ने महानगरले जनाएको छ ।
अपांगतामैत्री यो क्याबका खरिदका लागि ललितपुर महानगरपालिकाले २० लाख, स्वावलम्बन जीवन पद्धति केन्द्र इरुका जापानले १५ लाख र स्वावलम्बन जीवन पद्धति केन्द्र ललितपुरले ३ लाख रुपियाँ खर्च गर्ने सम्झौता–पत्रमा उल्लेख छ । सम्झौतापत्रका अनुसार चार महिनाभित्र उक्त क्याब नेपालको सडकमा गुडिसक्नुपर्नेछ ।
सम्झौता पत्रमा ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन, स्वावलम्बन जीवन पद्धति केन्द्र ललितपुरका अध्यक्ष भोजराज श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ । हस्ताक्षर गर्ने कार्यक्रममा ललितपुर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला र स्वावलम्बन जीवन प्रद्धति केन्द्र ललितपुरका महासचिव कृष्ण गौतमको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्