मेची अस्पतालमा ५० शय्याको कोभिड उपचार केन्द्र



नेपाल समाचारपत्र, भद्रपुर
कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका र अन्य बिरामीलाई एउटै भवनमा राखेर झापाको मेची प्रादेशिक अस्पताल भद्रपुरले उपचार शुरू गरेपछि बल्झिएको विवाद समाधान भएको छ ।
जिल्लामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका बिरामीलाई पुरानो भवननजिकै रहेको मेची अस्पतालको निर्माणाधीन भवनमा ५० शय्याको कोभिड– १९ उपचार केन्द्र सञ्चालनमा ल्याएपछि दुई महिनादेखि बल्झिएको विवाद साम्य भएको हो । अस्पतालकै पुरानो भवनमा बनाइएको आइसोलेसन वार्डमा गत साउन १९ गतेदेखि कोरोना सङ्क्रमण पुष्टि भएका बिरामी राखेर उपचार शुरू गरिएको थियो । निर्माण सम्पन्न भइनसकेका कारण तत्कालका लागि पुरानो भवनलाई प्रयोग गर्दै आइरहेकोमा आइतबारबाट नयाँ भवनमा कोरोनाका बिरामीको मात्र उपचार शुरू गरिएको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालको निर्माणाधीन भवनमा कोरोना सङ्क्रमितलाई राखेर उपचार गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पिताम्बर ठाकुरले जानकारी दिनुभयो । कोभिड–१९ उपचार केन्द्रको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको उहाँको भनाइ छ । हाल ५० शय्याको निर्माण पूरा भइसकेको र थप २५ शय्याका लागि काम भइरहेको छ ।
सङ्क्रमितको उपचारका लागि अस्पतालका डाक्टर गोविन्द कँडेलको संयोजकत्वमा आठ सदस्य आरडीटी समिति गठन यसअघि नै गरिसकेकाले त्यही समितिमा आबद्ध चिकित्सकको टोलीले उपचार गर्ने उहाँको कथन छ ।
अस्पतालकै पुरानो भवनमा बनाइएको आइसोलेसन वार्डमा गत साउन १९ गतेदेखि कोरोना सङ्क्रमण पुष्टि भएका र अन्य बिरामीलाई एउटै भवनमा राखेर उपचार गरेपछि अस्पतालमा अन्य उपचारका लागि जाने बिरामीको सङ्ख्या ह्वात्तै घटेको थियो । कोरोना सङ्क्रमित बिरामी राखिएपछि सङ्क्रमण फैलिन सक्ने त्रासकै कारण बिरामी जान छाडेपछि चौतर्फी आलोचना शुरू भएको थियो । २२ शैय्याको आइसोलेसन तीन दिनमै भरिएपछि अस्पताल प्रशासनलाई थप चुनौती थपिएको थियो । त्यसपछि अस्पतालले कोभिड–१९ उपचार केन्द्र अन्यत्र सार्न निर्माण कार्यलाई तीव्रता दिइएको थियो ।
यता अस्पतालमा सञ्चालनमा आएको पीसीआर परीक्षण सेवा केही दिन यताबाट बन्द भइसकेको छ । पीसीआर प्रयोगशालामा चाहिने पीसीआर प्लेटकभर सकिएपछि सेवा बन्द भएको हो । प्रयोगशालामा चाहिने आरएनए एक्स्ट्र्याक्सन र पीसीआर किट स्टक भए पनि प्लेटकभर नभएपछि सेवा बन्द भएको प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्