‘हुनेले दिएर जाउँ, नहुनेले लिएर जाऔं’



कविराज नेपाल, पाल्पा

हामीले रुपियाँ पैसा जम्मा गर्न र झिक्नका लागि बैंक वा वित्तीय संस्था खोलेको र यसबाट धेरैले राहत पाएको देखेकै छौं । तर, पाल्पामा विपन्नलाई राहत दिनका लागि खाद्यान्न बैंक स्थापना गरिएको छ ।

कोरोनाका कारण सिर्जना भएको बन्दाबन्दी र निषेधाज्ञाका कारण काम गर्ने अवसर नपाएर समस्यामा परेका गरिब, विपन्न तथा असहाय नागरिकलाई विषम परिस्थितिमा भोकै बस्न नपरोस् भन्ने उद्देश्यले पाल्पाको रामपुरमा खाद्यान्न बैंक (फुड बैंक) को स्थापना गरिएको हो ।

कोरोनाका कारणले काम गर्न नपाएर साँझ बिहान हातमुख जोर्न समस्यामा परेका नागरिकलाई मध्यनजर गर्दै ‘फुड बैंक’ स्थापना गरिएको हो ।

क्लबले ‘हुने खानेले हुँदा खानेलाई हुनेले दिएर जाऊ, नहुनेले लिएर जाऔं’ भन्ने अभियानका साथ फुड बैंक स्थापना गरी सहयोग गर्न थालेको लायन्स क्लब रामपुरका अध्यक्ष खिमबहादुर केसीले बताउनुभयो । बन्दाबन्दी र निषेधाज्ञाका कारण काम गर्ने अवसर नपाएर समस्यामा परेका गरिब, विपन्न तथा असहाय नागरिकलाई विषम परिस्थितिमा भोकै बस्न नपरोस् भन्ने उद्देश्यले फुड बैंकको स्थापना गरी सहयोग गर्न थालिएको उहाँको भनाइ छ ।

युथ युनियन मटेरी क्लब, रामपुर युवा क्लब, इस्लामिक सक्रिय युवा समाज, सिज नेपाल सदातर्व र भम्बक युनाइटेडको समन्वयमा लायन्स क्लब रामपुरले फुड बैंक स्थापना गरी रामपुर नगरपालिकाका विभिन्न स्थानबाट खाद्यान्न सामग्री वितरण कार्य शुरू गरेको हो ।

रामपुर नगरपालिकाभित्रका विभिन्न स्थानमा पुगेर संस्थाले एक व्यक्तिलाई पाँच किलो चामल, एक÷एक किलो दाल, नुन र आधा लिटर खानेतेल उपलब्ध गराएको छ ।

फुड बैंकको शुभारम्भ गर्दै रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले बढ्दो जोखिम परिस्थितिका बेला यस कार्यले हुँदा खानेका लागि ठूलो राहत पुग्ने बताउँदै यस अभियानमा नगरपालिकाले सक्दो सहयोग गर्ने बताउनुभयो ।

समस्यामा परेका जुनसुकै व्यक्तिले फुड बैंकमा आएर चाहिएका सामान आफैंले झिकेर लैजाने व्यवस्था मिलाइएको अभियानका आर्थिक संयोजक दीपेन्द्रप्रसाद भट्टराईले बताउनुभयो । बैकबाट अहिलेसम्म करिब डेढ लाख बराबरको खाद्यान्न १ सय ७६ घर–परिवारलाई वितरण गरिएको र यसले साँझ–बिहान छाक टार्न कठिन भएकाहरूलाई राहत पुगेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्