ललितपुर महानगरमा हाछेथु



ललितपुर, (नेस)

ललितपुर महानगरपालिकाले ट्राफिक व्यवस्थापन गर्न सक्षम र सफल मानिएका पूर्व ट्राफिक प्रहरी इन्चार्ज सिताराम हाछेथुलाई महानगरको नगर प्रहरी बल प्रमुखको जिम्मेवारीमा नियुक्त गरेको छ ।

हाछेथुँलाई नगर प्रहरी र दमकललाई व्यवस्थित गर्ने जिम्मेवारीसहित महानगरले आइतबार नियुक्त गरेको हो । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महानगरपालिकाका नगर प्रहरीको क्षमतालाई अझै चुस्त बनाउन सितारामलाई ल्याएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘उहाँको कार्य क्षमता, शैलीबाट जनता प्रभावित हुनुहुन्छ, त्यसैले ल्याएका हौं ।’ प्रमुख महर्जनले पूर्वट्राफिक प्रहरीको अनुभवले ललितपुर महानगरका नगर प्रहरी अझै दक्ष हुने बताउँदै नमुनानगर प्रहरी बनाउन हाछेथुको भूमिका महŒवपूर्ण हुने उहाँले बताउनुभयो ।
महानगरभित्रको ट्राफिक व्यवस्थापन गर्दै महानगरले तयार पारेको महानगरस्तरीय ट्राफिक व्यवस्थापन सम्बन्धित योजना कार्यन्वयन गर्न विज्ञका रुपमा सितारामलाई ल्याएको प्रमुख महर्जनले स्पष्ट पार्नुभयो ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले महानगरका नगर प्रहरीको क्षमतालाई चुस्त बनाउन हाछेथुलाई नियुक्त गरेको बताउनुभयो । जनतालाई दिने सेवा प्रभावकारी र प्रशंसनीय भएकोले सितारामलाई नियुक्त गरिएको कोइरालाको भनाइ थियो ।

 

प्रतिक्रिया दिनुहोस्