समिट अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु



भक्तपुर, (नेस)
भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ मा एक वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
पाल्पा स्थायी घर भई हाल लोकन्थलीस्थित रमाइलो चोक बस्‍ने ७७ वर्षीय पुरुषको स्थानीय समिट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मध्यपुर थिमी नगरपालिका–१ का वडाध्यक्ष सुरज खड्काले बताउनुभयो ।
गम्भीर बिरामी परेपछि उपचारका लागि उनलाई शुक्रबार बानेश्‍वरस्थित सिभिल अस्पताल लगिएको थियो ।

दमका रोगीसमेत रहेका वृद्धलाई त्यहाँ भर्ना गर्न आईसीयू खाली नभएको भन्दै अस्पतालले फर्काएपछि लोकन्थलीस्थित समिट अस्पतालमा भर्ना गरिएको थियो । समिटमा भर्ना गरेर उपचार चलिरहँदा आइतबार दिउँसो मृत्यु भएको वडाध्यक्ष खड्काले बताउनुभयो ।

स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारका अनुसार श्वासप्रश्वास बढेपछि अस्पताल भर्ना गरिएका पुरुषको स्वाब परीक्षण गर्दा रिपोर्टमा संक्रमण पुष्टि भएको थियो । यसअघि आइतबार बिहान भक्तपुरमै पहिलोपटक होम आइसोलेसनमा रहेका एक ६५ वर्षीय वृद्धको मृत्यु भएको थियो ।

दुवै शवको व्यवस्थापन सेनाले गरेको वीर दल गणका प्रमुख कर्णेल शिव पौडेलले बताउनुभयो । हालसम्म कोरोनाबाट भक्तपुरमा मृत्यु हुनेको संख्या आठ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्