केटी आमा बनिन्



चर्चित अमेरिकी गायिका केटी पेरी आमा बनेकी छिन्। उनले छोरीलाई जन्म दिएकी हुन्। योसँगै केटी र आल्र्यान्डो ब्लुम मातापिता बनेका छन्। ब्लुमसँग केटीले इन्गेजमेन्ट गरे पनि बिहे भने भइसकेको छैन ।
सामाजिक सञ्जाल इन्स्टाग्राममा एक फोटो र क्याप्सन शेयर गर्दै उनले आफूहरू मातापिता बनेको खुसीको खबर आफ्ना फ्यानलाई दिएकी हुन्। तस्वीरमा केटीले आफ्नी नवजात छोरी डेजी र पति ब्लुमको हात समातिरहेकी छिन्।

जुन तस्वीरमा लाखौं फ्यानले उनीहरूलाई बधाई र शुभकामना दिएका छन्। उनीहरूले आफ्नो नवजात छोरीको नाम डेजी डब ब्ल्युम राखेका छन्। केटीले आफ्नो पोस्टमा लेखेकी छिन्– ‘यो संसारमा तिमीलाई स्वागत, डेजी डब ब्ल्युम। तिमीलाई स्वागत गर्न पाउँदा हामी निकै खुसीका साथै तिम्रो स्वस्थ र सुरक्षित आगमनले हामीलाई थप खुसी बनाएको छ। हामी निकै खुसी यो कारण छौं कि सबैलाई हाम्रो जस्तो शान्तिपूर्ण तरिकाले बच्चा जन्म दिनुको खुसी मिल्दैन।’

सांगीतिक करिअरमा निकै नै सफल केटी गायिकाको साथमा गीतकार, संगीतकार तथा स्टेज पर्फमर पनि हुन्। जुलाई सन् २०१९ देखि केटी ट्विटरमा सबैभन्दा बढी फलो गरिएकी तेस्रो सेलिब्रेटी बन्न सफल छिन्। उनको १ सय ८.४ मिलियन फलोअर्स रहेका छन्। उनी सामाजिक कार्यकर्ता पनि हुन्, जो होमोसेक्सुअल मानिसका लागि विभिन्न काम गरिरहेकी हुन्छिन्।

प्रतिक्रिया दिनुहोस्