आलितालमा चक्रपथ सडक निर्माणमा वन फडानी प्रकरण

 दोषीलाई कानूनी कारवाही गर्न कुनै कसर नराखिने



राम धामी, डडेल्धुरा ।

डडेल्धुराको आलिताल गाँउपालिका–८ मा निर्मित डोला चक्रपथ सडक रुख काटेर तस्करी गर्ने नियतबाट निर्माण गरिएको सुदूरपश्चिम प्रदेश सभाको अर्थ, विकास तथा प्राकृतिक श्रोत समिति अन्तर्गतको संसदीय समितिले ठहर गरेको छ ।

डोला चक्रपथ सडक निर्माणका क्रममा अवैध रुपमा सालका रुखहरु काटिएको बिषयमा सुदूरपश्चिम प्रदेश सभाको अर्थ, विकास तथा प्राकृतिक श्रोत समितिले आईतबार स्थलगत अध्ययन गरेको थियो । स्थलगत अध्ययनका क्रममा जंगलमा चक्रपथ सडक निर्माण गर्न आवश्यक नदेखिएको र रुख काटेर तस्करी गर्न नियोजित रुपमा सडक निर्माण गरिएको संसदीय समितिले जनाएको छ ।

प्रदेश सभा सदस्य दिर्घराज सोडारीको नेतृत्वमा आएको पाँच सदस्यीय संसदीय समितिले सोमबार डडेल्धुरा सदरमुकाममा पत्रकार सम्मेलनको आयोजनागर्दै वातावरणीय प्रभाव मुल्याकन नगरि निर्माण गरिएको डोला चक्रपथ सडक काठ तस्करी गर्ने नियतबाट निर्माण गरिएको र अन्धाधुन्ध सालका हरिया रुखहरु काटिएको जनाएको छ ।

“सडक निर्माणका नाममा सालका रुखहरु काटेर गोलिया बनाएर धनगढीतिर तस्करी भइसकेको र धनगढी तस्करी हुन नसकेको काठमात्रै डिभिजन वन कार्यालय डडेल्धुराको टोलीले बरामद गरेको पाइएको छ,” संसदीय टोलीको नेतृत्व गरिरहेका साँसद सोडारीले भने । उनले स्थलगत अध्ययनका आधारमा छानबिन प्रतिवेदन तयार गरेर दोषी निर्माण कम्पनीलाई कारवाहीको दायरामा ल्याईने बताए ।

डोला चक्रपथ सडक निर्माणका लागि गाँउसभाबाट कुनै निर्णय भएको नपाइएको र अवैध रुपमा वन फडानी गर्ने कुत्सित मनषायका साथ काम भएको पाइएको संसदीय समितिका अर्का सदस्य महेशदत्त जोशीले बताए । उनले कामदारहरुलाई भन्दा पनि निर्माण कम्पनीलाई कारवाही गरिने बताए । संसदीय समितिमा सोडारी र जोशीसँगै साँसदहरु पुर्णा जोशी, अक्कलबहादुर रावल र प्रेमप्रकाश जोशी छन् ।

आलिताल गाँउपालिका अन्र्तगतको गोदाम बजार देखी डोला गाँउ जोड्ने सडकको निर्माणका क्रममा सामुदायिक र राष्ट्रिय वनक्षेत्रमा रहेका रुखहरु अवैध रुपमा काटिएका हुन । आलिताल गाँउपालिकाको समपूरक कोष अन्र्तगत निर्माण सुरु गरिएको सडकमा रहेका रुखहरु वन कार्यालयको अनुमती विना कटानी गरि गोलिया बनाएर लुकाई राखेको अवस्थामा फेला पारेको वन डिभिजन कार्यालय डडेल्धुराका निमित्त डिभिजनल वन अधिकृत डबलबहादुर बोहराले जानकारी दिए ।

सो सडक निर्माणका क्रममा कोटिएका एक सय १० थान गोलिया काठ बरामद गरिएको र बाँकी लुकाएर राखिएको काठको खोजी भईरहेको डिभिजन वन कार्यालय डडेल्धुराले जनाएको छ । सो सडक निर्माणका लागि आलिताल गाँउपालिकाले ठेक्कामार्फत उग्रतारा कन्सट्रक्सनसँग सम्झौता गरेर काम गरेको आलिताल गाँउपालिकाले जनाएको छ ।

पहिलानै ट्रयाक खोलिएको सडक भएको र समयावधी निकै कम भएकाले वातावरणीय प्रभाव मुल्यांकन नगरेरै निर्माण शुरु गरिएको आलिताल गाँउपालिकाका अध्यक्ष बलबहादुर गुरुङले बताए । उनले प्रदेश र संघीय सरकारबाट निर्माण गरिएका सडक योजनाहरुमा समेत वातावरणीय प्रभाव मुल्यांकन गरिएको जिकिर गरे ।

डिभिजन वन कार्यालय डडेल्धुराका प्रमुख विष्णुप्रसाद आचार्य जिल्लाका बिभिन्न स्थानमा संघ, प्रदेश र स्थानीय तहबाट निर्माण भइरहेका अधिकांस सडक योजनाहरु वातावरणीय प्रभाव मुल्यांकन नगरिकनै निर्माण भइरहेको बताउछन् ।

अधिकांस सडक निर्माणका क्रममा रुख काटिएको बताउदै उनले यस्तो समस्या देशभरी देखिएको उनले जिकिर गरे । प्रदेश सरकारले वन ऐन ल्याउन नसकेकाले कानूनी जटिलता कायम रहेको बताउदै उनले सडक निर्माणका क्रममा रुख काटने ठेकेदार कम्पनीलाई थप अनुसन्धान गरेर मुद्दा लगाईने बताए ।

प्रतिक्रिया दिनुहोस्