सिरहामा दुई दिनमा ३ को मृत्यु



सुभेन्द्र दास, लहान  ।

सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ कटैया गाउँका एकै प्रकारको लक्षणबाट दुई दिनमा तीन जनाको मृत्यु भएको छ । टाउको दुख्‍ने, वान्ता आउने र बेहोस भएपछि कटैयाका ३८ वर्षीय रामउदगार मुखियाको आइतबार बिहान मृत्यु भएको छ ।

त्यही लक्षणबाट बेहोस भएका कटैयाका २८ वर्षीय दिपेश मुखियाको धरानमा उपचारका क्रममा आइतबार अपरान्ह मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसअघि शनिबार राति १ बजे कटैया गाउँकै ३८ वर्षीय श्यामदेव यादवको पनि टाउको दुख्‍ने, वान्ता हुने र बेहोस भएपछि मृत्यु भएको थियो । एकै प्रकारको लक्षणबाट २ दिनमा ३ जनाको मृत्यु भएपछि कटैया गाउँ त्रसित बनेको सखुवानन्कारकट्टी गाउँपालिका-१ का वडाध्यक्ष शुभ नारायण यादवले बताए ।

मृतक तीनै जनाले टोलमै घरेलु मदिरा सेवन गर्दै आएको र विषाक्त रक्सीकै कारण मृत्यु भएको हुनसक्ने अनुमान गाउँलेको रहेको वडाध्यक्ष यादवले सुनाए । इलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी शरत थापा क्षेत्रीले एकै प्रकारको लक्षणबाट तीन जनाको मृत्यु भएको देखिएको र घटनाको बारेमा अनुसन्धान भइरहेको जानकारी दिए ।

तीन जनाको मृत्यु भएपछि सखुवानन्कारकट्टी गाउँपालिकाका स्वास्थ्य संयोजक हरि नारायण चौधरी, सिनियर अहेव राजेन्द्र प्रसाद यादव, अहेव विद्यासागर यादवको टोली घट्ना भएको गाउँ पुगेका थिए । स्वास्थ्य संयोजक चौधरीले मृतक सबैमा टाउको दुख्ने, वान्ता आउने र त्यसपछि बेहोस भएर मृत्यु भएको जानकारी आफूहरुले पाएको बताए ।

यसैबीच, एक साताको अवधिमा सिरहाको नवराजपुर गाउँपालिका–३ फूलबरियाको डोम बस्तीमा २ जनाको मृत्यु भएको छ । गत साउन ३२ गते २५ वर्षीय उदगार मल्लिक र भदौ ५ गते २७ वर्षीय नागेन्द्र मल्लिकको मृत्यु भएको छ । मदिरा सेवन गरेर सुतेका ती दुवै जनामा टाउको दुख्‍ने, बान्ता हुने र बेहोस भएर मृत्यु भएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्