नमुना कृषि गाउँ भएपछि फेरिँदै पाङ



दुर्गाप्रसाद शर्मा, पर्वत
जिल्लामा एउटा उखाने छ ‘देउपुरको जस्तो खेतीपाती, बाजुङको जस्तो गाउँ, उराठ लाग्ने दुर्लुङको डाँडो, मोहनी लाग्ने पाङ’ । पहिले मोहनी लाग्ने भनिएको पाङ अहिले देउपुरकै जस्तो खेतीपाती उब्जाउने नमुना कृषि गाउँ बन्ने अभियानमा छ ।
कुस्मा नगरपालिका– १ मा पर्ने पाङको टार र खरिबोट गाउँका हरेक घरका टनेलमा लटरम्म टमाटर फलेका छन्, कसैले पनि जग्गा बाँझो छोडेका छैनन्। एउटा टनेलबाट ६०÷७० हजारभन्दा बढी नकमाउने कोही पनि छैनन् । कोही कृषक गोलभेंडा बेच्न सदरमुकाम कुस्मा पुग्छन्, कोही क्रेता कृषकको घरमै । श्रीमानको कमाइमा भर पर्दै आएका महिला सामान्य घर खर्च र सन्तानलाई कापी कलमको जोहो आफैं गर्न सक्ने भएकाछन्।

‘मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ’ को रुपमा घोषणा गरेर गण्डकी प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत कार्यक्रम लागू भएपछि पाङका झण्डै १ सय ५० घरपरिवारको अवस्थामा उल्लेख्य सुधार आएको हो । वडाध्यक्ष देवेन्द्र सुवेदीका अनुसार गत वर्षबाट ५ वर्षका लागि कार्यक्रम लागू भएपछि एक वर्षकै अवधिमा कृषकले टनेलमा खेती गर्दा राम्रो आम्दानी गर्न सकेका हुन् । ‘यो कार्यक्रममा गोठ सुधार, घर घरमा टनेल, करेसाबारी निर्माण, फूल रोपण र हरेक घरमा हरियो रङ लगाउने काम हुन्छन्।’ उहाँले भन्नुभयो–‘सबै वडामा त लागू भएको होइन, टार र खरीबोटका १ सय ४१ घरमा यो कार्यक्रम लागू भएको छ।’

एक वर्षको अवधिमा करिब ८५ घरले टनेल हाल्ने, घरमा हरियो रङ लगाउने, करेसाबारी निर्माण गर्ने र गोठ सुधारको काम गरेका छन् । १० वटा समूह निर्माण गरेर प्रतिसमूह एउटा मिनी टिलर बाँडिएको छ । कृषकले नै ‘पार्वती नमुना कृषि गाउँ कृषि सहकारी संस्था’ चलाएर यसैका माध्यमबाट प्रदेशबाट आएको बजेटलाई सदुपयोग गर्ने गरेका छन्। वडा सदस्य वीरेन्द्र रिजालका अनुसार प्रदेश सरकारले पहिलो वर्ष ३० लाख, दोस्रो वर्ष १५ लाख गर्दै ५ वर्षमा बजेट शून्य बनाएर यो परियोजना पूरा गर्दै छ।

‘यसको प्रभावकारिता त निकै राम्रो रह्यो। गत वर्ष कृषकले मेरो पसलमा दैनिक २ क्विन्टल टमाटर जम्मा पारेर बजार पठाए । आफ्नै तरिकाले लगेकोसहित जोड्दा ३६ क्विन्टलभन्दा बढी निर्यात भयो।’ उहाँले भन्नुभयो–‘यो कार्यक्रममा नपरेका कृषकलाई वडाबाट २ लाखको लगानीमा ९० वटा टनेल बाँडेका छौं । उहाँहरुले पनि राम्रो उत्पादन गर्दै आउनुभएको छ।’

परियोजनामा परेका कृषकले एकपटक लगाएको बिरुवाले ६ महिनासम्म उत्पादन दिने र ५० हजारदेखि १ लाख रुपियाँसम्म आम्दानी हुने गरेको बताउँछन्। ‘मेरो घरमा ५ वटा टनेल छन् । ४ वटामा टमाटर र एउटामा बन्दा लगाउने हो।’ कृषक लक्ष्मी पौडेलले भन्नुभयो–‘टनेलमा राम्रो फल्ने रहेछ। त्यसलाई ध्यान दिने हो कमाई राम्रो हुने रहेछ। मेरो घर खर्च टनेलबाटै चलेको छ। वर्षमा लगभग साढे २ लाख जतिको फल्यो।’ घरपरिवारमा जागिर भएको मान्छे नभए पनि टमाटर बेचेरै चामल किन्ने गरेको उहा“ले सुनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्