भिडियोमा अभद्र टिप्पणी गर्ने पक्राउ



हामीकहाँ जसले जसलाई जति गाली गरे पनि हुन्छ। ऋाफ्नो मत जाहेर गरेकै कारण कतिपय कलाकर्मी कही समययता असामाजिक र अश्लील गालीको शिकार भएका छन्। विभिन्न विषयमा आफ्नो मनका अभिव्यक्ति दिएकै कारण लकडाउन र त्यस पछाडिका समयमा कलाकाहरूलाई सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमसम्मबाट हुने नहुने गाली गलौज गरिएको छ। तर, हालसम्म कसैलाई कारबाही गरिएको समाचार बाहिर आएको छैन।

उता भारतमा भने अभिनेत्रीलाई अश्लील टिप्पणी गरिएपछि प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। लाइभ हिन्दुस्तानका अनुसार महाराष्ट्रको औरंगावाद शहरका २६ वर्षीय एक व्यक्ति बलिउड सुन्दरी सोनाक्षी सिन्हाको इन्स्टाग्राम अकाउन्टमा अश्लील टिप्पणी गरेको आरोपमा पक्राउ परेका हुन्। प्रहरी अधिकारीलाई उद्धृत गर्दै समाचारमा जनाइएअनुसार सोनाक्षीले यस सम्बन्धमा केही दिनअघि मुम्बई अपराध शाखामा उजुरी दर्ता गराएकी थिइन्।

सोनाक्षीले महिला सुरक्षा र साइबर बुलि¬ङ तथा उत्पीडनका सम्बन्धमा हालै एक भिडिया बनाएकी थिइन्। उनले उक्त भिडियो आफ्नो इन्स्टाग्राममा पोस्ट गरेकी थिइन्। समाचारअनुसार एक अज्ञात व्यक्तिले भिडियोमा महिलाका बारेमा अश्लील टिप्पणी गरेका थिए।

उनले कही बलिउड हस्तीका बारमा अभद्र भाषा पनि प्रयोग गरेका थिए। साइबर प्रहरीले भारतीय दण्ड संहितासम्बन्धी धाराहरू र सँचना प्रविधि अधिनियमका आधारमा उजुरी दर्ता गरेको छ। साइबर प्रहरीले उजुरी दर्ता गरेपछि ती व्यक्तिको आईपी एड्रेस र अन्य सुराकका आधारमा उनीसम्म पुगेको थियो।

समाचारमा जनाइएअनुसार शुक्रबार ती व्यक्तिलाई जाधवको एक अदालतमा हाजिर गराइएको छ। अदालतले उनलाई न्यायिक हिरासतमा पठाएको छ। सोनाक्षीले यसअघि ट्रोलिङबाट हैरान भई आफ्नो ट्विटर अकाउन्ट बन्द गरेकी थिइन्। उनले सामाजिक सञ्जालमा धेरै नै नकरात्मक वातावरण बनिरहेको बताएकी छिन्।

 

 

प्रतिक्रिया दिनुहोस्