नमुना कृषि गाउँ भएपछि फेरीदै छ पर्वतको पाङ


दुर्गाप्रसाद शर्मा, पाङ, पर्वत ।
पर्वतमा एउटा उखान सबैका मुखमा झुण्डिने गरेको छ ‘देउपुरको जस्तो खेती र पाती, बाजुङ्गको जस्तो गाउँ, उराठ लाग्ने दुर्लुङ्गको डाँडो, मोहनी लाग्ने पाङ’ । पहिले मोहनी लाग्ने भनिएको पाङ अहिले देउपुरकै जस्तै खेती र पाती उब्जाउन थालेर नमुना कृषि गाउँ बन्ने अभियान छ ।

कुस्मा नगरपालिका वडा नं १ मा पर्ने पाङको टार र खरिबोट गाउँका हरेक घरका टनेलमा लटरम्म टमाटर फलेका छन्, कसैले पनि जग्गा बाँझो छाडेका छैनन्। एउटा टनेलबाट कम्तीमा पनि ६०÷७० हजार भन्दा बढी नकमाउने कोही पनि छैन। कोही कृषक गोलभेंडा बेच्न सदरमुकाम कुस्मा पुग्छन्, कोही क्रेता कृषकको घरमै। श्रीमानको कमाइमा भर पर्दै आएका महिला सामान्य घर खर्ची र सन्तानलाई कापी कलमको जोहो आफै गर्छन्।

‘मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ’ को रुपमा घोषणा गरेर गण्डकी प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत कार्यक्रम लागू भएपछि पाङका झण्डै १ सय ५० घरपरिवारको अवस्थामा उल्लेख्य सुधार आएको छ ।

वडाध्यक्ष देवेन्द्र सुवेदीका अनुसार गत वर्षबाट ५ वर्षका लागि कार्यक्रम लागू भएपछि एक वर्षकै अवधिमा कृषकले टनेलमा खेती गर्दा राम्रो आम्दानी गर्न सकेका छन । ‘यो कार्यक्रममा गोठ सुधार, घर घरमा टनेल, करेसाबारी निर्माण, फूल रोपण र हरेक घरमा हरियो रङ लगाउने कामहरु हुन्छन्।’ उहाँले भन्नुभयो ‘सबै वडामा त लागू भएको होइन, टार र खरीबोटका १ सय ४१ घरमा यो कार्यक्रम लागू भएको छ।’

एक वर्षको अवधिमा करिब ८५ घरले टनेल हाल्ने, घरमा हरियो रङ लगाउने, करेसाबारी निर्माण गर्ने र गोठ सुधारको काम गरेका छन्। १० ओटा समूह निर्माण गरेर प्रति समूह एउटा मिनी टिलर बाँडिएको छ। कृषकहरूले नै ‘पार्वती नमुना कृषि गाउँ कृषि सहकारी संस्था’ चलाएर यसैका माध्यमबाट प्रदेशबाट आएको बजेटलाई सदुपयोग गर्ने गरेका छन्।

वडा सदस्य वीरेन्द्र रिजालका अनुसार प्रदेश सरकारले पहिलो वर्ष ३० लाख, दोस्रो वर्ष १५ लाख गर्दै ५ वर्षमा बजेट शून्य बनाएर यो परियोजना पूरा गर्दै छ। ‘यसको प्रभावकारिता त निकै राम्रो रह्यो। गत वर्ष कृषकहरुले मेरो पसलमा दैनिक २ क्विन्टल टमाटर जम्मा पारेर बजार पठाए।

आफ्नै तरीकाले लगेको सहित जोड्दा ३६ हजार क्विन्टल भन्दा बढी निर्यात भयो।’ उहाँले भन्नुभयो ‘यो कार्यक्रममा नपरेका कृषकहरुलाई वडाबाट २ लाखको लगानीमा ९० ओटा टनेल बाँडेका छौँ। उहाँहरुले पनि राम्रो उत्पादन गर्दै आउनुभएको छ।’

परियोजनामा परेका कृषकहरुले एक पटक लगाएको बिरुवाले ६ महिनासम्म उत्पादन दिने र ५० हजारदेखि १ लाख सम्म आम्दानी हुने गरेको बताउँछन्। ‘मेरो घरमा ५ ओटा टनेल छन्। ४ ओटामा टमाटर र एउटामा बन्दा लगाउने हो।’ कृषक लक्ष्मी पौडेलले भन्नुभयो, ‘टनेलमा राम्रो फल्ने रहेछ।

त्यसलाई ध्यान दिने हो कमाई राम्रो हुने रहेछ। मेरो घर खर्ची टनेलबाटै चलेको छ। वर्षमा लगभग साढे २ लाख जतिको फल्यो।’ घर परिवारमा जागिर भएको मान्छे नभए पनि टमाटर बेचेरै चामल किन्ने गरेको उहाँले सुनाउनुभयो ।

Skip This