झण्डा जलाउनेलाई कारबाही माग



हेटौंडा, (नेस)। नेपालको राष्ट्रिय झण्डा जलाउँदै जातीय विभेदसहित एक म्युजिक भिडियो युट्युबमा सार्वजनिक गरिएपछि स्थानीय प्रहरीले सक्रियता बढाएको छ। यस क्रममा म्युजिक भिडियो बनाउने क्यामेराम्यान पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार उनलाई काठमाडौंबाट पक्राउ गरेको हो। उनको परिचय भने खुलाइएको छैन। यस भिडियोका गायक गेल्जङ दोर्जे तामाङलगायतलाई प्रहरीले खोजी गरिरहेको छ।

उक्त म्युजिक भिडियो तयार पार्ने समूहका अन्यलाई मकवानपुर प्रहरीले खोजी गरिरहेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले स्थानीय प्रहरी चौकीबाट प्रहरी परिचालन भइसकेको जानकारी दिए। प्रहरी टोली भिडियो छायांकनस्थल पुगेर अनुसन्धान थालेको छ। छायांकन गरिएको भिडियोका आधारमा प्रहरी परिचालन गरिएको नायव प्रहरी उपरीक्षक रानाले बताए।

मकवानपुरको पूर्वी क्षेत्र बाग्मती गाउँपालिकामा खिचिएको देशद्रोही गीत र त्यसको म्युजिक भिडियोमा लाइक भन्दा डिस्लाइक हजारांै गुणा बढी छ। भिडियोमा मकवानपुरको पूर्वी बाग्मती गाउँपालिका–३ को सल्लेनीस्थित विष्णु आधारभूत विद्यालय क्षेत्र देखिएको छ। गाउँपालिकामै पर्ने मदन भण्डारी लोकमार्गका पुलहरूको दृश्य पनि भिडियोमा देखिन्छ।

भिडियोमा नेपालका राष्ट्रनिर्माता पृथ्वीनारायण शाह तथा पूर्वराजा ज्ञानेन्द्र शाह, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतको तस्वीर जलाइएको देखाइएको छ। सार्वजनिक म्युजिक भिडियोमा जातीयताका आधारमा गाली गरी सामाजिक द्वेष फैलाउन खोजिएको छ।

देशको गौरव राष्ट्रिय झण्डा जलाउनेलाई कडा कारबाही माग गरिएको छ। भिडियोको प्रतिक्रिया दिँदै फेसबुक प्रयोगकर्ताले भिडियो बनाउने र सोमा अभिनय गर्नेलाई नियन्त्रणमा लिएर कारबाही अगाडि बढाउन जोडदार माग गरेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (राप्रविसं) ले नेपालको राष्ट्रिय झण्डा जलाइएको म्युजिक भिडियो बन्द गर्न माग गरेको छ। प्रेस विज्ञप्ति जारी गर्दै संगठनले नेपालको राष्ट्रिय झण्डा जलाइएको म्युजिक भिडियो बन्द गर्न माग गरेको हो।

प्रतिक्रिया दिनुहोस्