‘साप्सुको छल्को’सँगै प्रदिपको छलाङ



रामधन राई, खोटाङ ।

जिल्ला तथा राष्ट्रिय स्तरमा हुने विभिन्न गायन प्रतियोगितामा उपाधी नजिक पुग्दै–चुक्दै आएका युवा गायक प्रदिप राईले आफ्नो पहिलो गीतमार्फत सांगीतिक छालमा छलाङ मारेका छन् । हालै मात्र रेकर्ड भई भिडियोसहित सार्वजानिक भएको ‘साप्सुको छल्को’ वोलको गीतले राईको गायन यात्रालाई मूलधारमा ल्याएको हो ।

दर्जनौं गायन प्रतियोगिताहरुमा निर्णायकहरुको मन जित्दाजित्दै पनि दुर्भाग्यवस दोश्रो, तेश्रो तथा सहभागितामै चित्त वुझाउँदै आएका राईका लागि यो पहिलो गीत साईतको थुंगा हुने शुभचिन्तकको विश्वास छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा जन्मिएका गायक प्रदिप जिल्लामा आयोजित सांगीतिक कार्यक्रमहरुमा धेरैले रुचाउने गायकमा पर्छन् ।

सानै उमेरदेखि नारायणगोपाल, भक्तराज आचार्य जस्ता सांगीतिक जगतका मुर्धन्य हस्ताक्षरहरुले गाएका गीतमा गला चलाउँदै आएका राईलाई यस गीतमा आफ्नी दश वर्षीया भतिजी वर्षा राईले साथ दिएकी छिन् । वर्षा पनि नेपाली गायनमा स्थापित हुने कला र गला बोकेकी सम्भावना हुन् ।

सहोदर दाई स्वर्णिम सुदिप र एस पल्लवको शब्द रचना रहेको सो गीतमा आफ्नै जन्मभूमि खोटाङको विभिन्न पर्यटकीयस्थलहरुको वर्णन गरिएको छ । गायक तथा सँगीतकार जनम थुलुङको सगीत रहेको गीतको संयोजन राजु कार्कीले गरेका छन् । लोकआधुनिक विद्यामा आधारित गीतमा मायाँ पिरतीको भाव झल्किने शब्दहरु प्रयोग गरिएको छ ।

प्रवेश राईको निर्देशनमा निर्माण गरिएको यो गीतको म्युजिक भिडियो गायक तथा सगीतकार थुलुङको व्यक्तिगत युट्युब च्यानल ‘जनम थुलुङ’मार्फत सार्वजनिक गरिएको छ । किरात राई साँस्कृतिक कलाकार संघ ललितपुरले आयोजना गर्दै आएको यलम्बर संगीत प्रतियोगिताको पछिल्लो संस्करणमा सेकेण्ड रनरअप भएका गायक प्रदिपले अन्य विभिन्न प्रतियोगितामा समेत आफ्नो गायकीलाई गहकिलो रुपले प्रस्तुत गर्दै आएको गीत संगीत पारखीहरु वताउछन् ।

प्रतिक्रिया दिनुहोस्