कास्कीमा मंगलबार मध्यरातीदेखि निषेधाज्ञा



न्युज अफ नेपाल, कास्की ।

कास्की जिल्लामा मंगलबार रातिदेखि ५ दिनका लागि निषेधाज्ञा जारी भएको छ। जिल्ला प्रशासन कार्यालय कास्कीले मंगलबार राति १२ बजेदेखि भदौ ७ गते राति १२ बजेसम्मका लागि लागू हुनेगरी कास्की जिल्लाभरी निषेधाज्ञा जारी गरेको हो।

समग्र कास्की जिल्ला भरी नै कोरोना संक्रमण डरलाग्दो रुपमा बढिरहेको निश्कर्ष निकाल्दै कोरोना रोकथामका लागि निषेधाज्ञा लगाउने निर्णय भएको कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिनुभयो।

निशेधाज्ञा लागू भएपछि अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन र हिंडडूल गर्न नपाइने, भेला, भीडभाड गर्न, सभा, जुलुश, जात्रा, महोत्सव गर्न तथा सबै धर्म, संस्कृति र परम्परा अनुसारका कार्यक्रमहरु गर्न प्रतिबन्ध लगाइएको छ।

सार्वजनिक तथा निजी सवारी साधनहरु सञ्चालन गर्न नपाउनुका साथै विद्यालय, विश्वविद्यालय, क्याम्पससहित सम्पूर्ण शैक्षिक संस्थाहरु, प्रशिक्षण केन्द्रहरु सञ्चालन गर्न निषेध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्