प्रहरी इन्चार्जलाई खुकुरी हान्ने तीन पक्राउ



न्युज अफ नेपाल, मकवानपुर ।
प्रहरीलाई धारिलो हतियार प्रहार गरेको आरोपमा मकवानपुरमा तीन जना पक्राउ परेका छन् ।

उनीहरुलाई हेटौँडा–६ चौघडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक डम्बरबहादुर केसीलाई धारिलो हतियार (खुकुरी) प्रहार गरेको आरोपमा गए राति पक्राउ गरिएको हो ।

प्रहरीले हेटौँडा–६ का २६ वर्षीय भक्तराम राउत, १६ वर्षीय उत्सव गौतम र ५० वर्षीय नकुल विक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

पक्राउ परेका उनीहरु लागुऔषध सेवनकर्ता हुन् । उनीहरुलाई सोमबार राति १० बजेको समयमा लागुऔषध सेवन गरिरहको भेटेपछि नियन्त्रणमा लिन खोज्दा प्रहरी सहायक निरीक्षक केसीमाथि खुकुरी प्रहार भएको मकवानपुर प्रहरीले जनाएको छ ।

खुकुरी प्रहारबाट केसीको दायाँ हातमा गम्भीर चोट लागेको र उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्