१४ वर्षपछि मेरी बास्सैमा फर्के घरज्वाइँ



भनिन्छ १२ वर्षपछि खोला पनि फर्किन्छ। लोकप्रिय हास्य अभिनेता दमन रूपाखेती पनि नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको ख्यातिप्राप्त हास्यशृंखला मेरी बास्सैमा फर्केका छन्। दमन १४ वर्षपछि मेरी बास्सैमा फर्किएका हुन्।

मेरी बास्सैको शुरुआतमा घरज्वाइँ बनेर चर्चा कमाएका दमन रूपाखेतीले नै केदार घिमिरे ‘माग्ने बुढा’, सीताराम कट्टेल ‘धुर्मुस’ जस्ता कलाकारका साथ आफ्नो निर्देशनमा मेरी बास्सै शुरू गरेका थिए। हास्य टेलिशृंखला मेरी बास्सैले प्रसारणमा आएको छोटो समयमै निकै लोकप्रियत कमाएको थियो भने थुप्रै हास्य कलाकार जन्माएको थियो।

यहीबीच केही असमझदारीका कारण मेरी बास्सैको ४० भागपछि दमन कार्यक्रमबाट बाहिरिए। मेरी बास्सैबाट बाहिरिएपछि केही हास्य सिरियल निर्देशन तथा अभिनय गरे पनि दर्शकले मेरी बास्सैकै भूमिका मन पराएका कारण आफू फेरि फर्किएको दमन बताउँछन्।

‘मेरी बास्सैपछि धेरै सिरियल गरें। तर, दर्शकले मेरी बास्सैको घरज्वाइँकै रोल राम्रो थियो भनिरहनुन्थ्यो। मेरी बास्सै भनेको एउटा ब्रान्ड हो र मेरा लागि पुरानो घर हो। दर्शककै कारण फेरि मेरी बास्सैमा फर्किएको छु।’ –नेपाल समाचारपत्रसँग कुरा गर्दै दमनले भने।

आफूलाई निर्देशनमा जाँगर चल्ने भएका कारण विभिन्न हास्य सिरियल निर्देशन गर्दै आएको बताउने दमनले लै बरी लै, जे होला होला जस्ता हास्य टेलिशृंखला निर्देशनलाई पनि अगाडि बढाइरहने बताए। १४ वर्षपछि मेरी बास्सैको सेटमा फर्किंदा आफूमा खुसीको साथै चुनौती पनि थपिएको दमन बताउँछन्। ‘मेरी बास्सैलाई पहिलेको जस्तै दर्शकका बीच लोकप्रिय बनाउने अपेक्षा राखेका दमन पुरानो घरमा फर्कंदा खुसी र चुनौती दुवै लिएर अघि बढिरहेको बताउँछन्। ‘म घरज्वाइँ बनेर पुरानो घरमा फर्किंदा खुसी त छु। तर, यससँगै चुनौती पनि छ।

कार्यक्रमलाई पहिलकै फ्लेवरमा अझ परिस्कृत गरेर लाने सोचका साथ फर्किएको छु। हुन त त्यो बेला कुञ्जना घिमिरे, सीताराम कट्टेल, केदार घिमिरेजस्ता कलाकार पनि मेरी बास्सैमा हुनुहुन्थ्यो, अहिले हुनुहुन्न। त्यस कारण पहिलेकै फ्लेवर त नहोला, तर यसलाई अझ चकमदमक र झकिझकाउ बनाउँछु भनेरै फर्किएको छु।’ –दमनले भने।

मेरी बास्सैबाट आफैं बाहिरिएको बताउने दमन पुराना कुरालाई बिर्सिएर अगाडि बढ्नुपर्छ भन्ने सोचले फेरि फर्किएको प्रस्टाउँछन्। ‘हिजो जे भयो त्यसलाई बिर्सिनुपर्छ। भोलिलाई कसरी राम्रो बनाउने त्यो सोच्नुपर्छ’, उनी भन्छन्– ‘अहिले सीताराम भाइ, कुञ्जना बहिनी देशका लागि राम्रो कर्म गरिरहनुभएको छ। त्यस्तै केदार घिमिरेलगायत लाई सम्झिँदा खुसी लाग्छ। उहाँहरू फेरि मेरी बास्सैमा आउन चाहनुहुन्छ भने ढोका सधैं खुला छ। किनभने यो हाम्रो साझा घर हो। हामी सबै सँगै एकै परिवार भएर अघि बढ्न सक्छौं। त्यस्तै नयाँ कलाकारलाई पनि स्वागत छ।’

गत मंगलबार कृष्ण जन्माष्टमिको अवसर पारेर शुरू भएको सिरियलमा कुञ्जन भट्टराईको लेखन रहेको छ भने दमनसँगै शूरवीर पण्डित ‘दारी बा’, रामचन्द्र अधिकारी ‘गोप्ते काजी’, पल्पसा डंगोल ‘चम्सुरी’, निरू खड्का ‘ठ्यास कुमारी’, सुरेन्द्र केसी ‘मुला साग’, सुनीता बजगाईंलगायतका कलाकारले अभिनय गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्