लम्बिँदै लकडाउन


नेपाल सामचारपत्र, सर्लाही
कोरोना भाइरस संक्रमित हुनेको संख्या बढ्दै गएपछि स्थानीय प्रशासनले सोमबारबाट पुनः लागू हुने गरी भदौ ७ गतसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेको छ ।

साउन २६ गतेबाट लागू गरेको निषेधाज्ञा आइतबार सकिएकाले कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गठित डीसीसीएमसीको बैठकले पुनः दोस्रोपटक निषेधाज्ञा आदेश जारी गर्न सिफारिस गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।

स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा आदेशलाई पहिलेको भन्दा केही कडाइ गर्दै औषधि पसल, स्वास्थ्य, विद्युत्, दूरसञ्चार, खानेपानी, दूध, फोहोरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, खाद्यान्न, तरकारी, पशुपक्षीको दाना र कृषिकार्यबाहेकका अन्य बैंक वित्तीय संस्थाबाट प्रदान गरिने सबैखाले सेवा बन्दगर्ने निर्णय भएको छ ।

यसअघिको निषेधाज्ञा आदेशमा खाद्यान्न फलफूल र तरकारी पसललाई दैनिक दिउँसो २ देखि साँझ ७ बजेसम्म खोल्न दिने भनिएको भए पनि आजबाट साताको तीन दिन सोमबार, बुधबार र शुक्रबार दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म सामाजिक दूरी कायम गर्दै खरिद–बिक्री गर्नुपर्ने आदेश जारी गरिएको छ ।

पछिल्लोपटक कोरोना संक्रमण समुदायस्तरमै फैलिएकाले अत्यावश्यक कामबाहेक सर्वसाधारणलाई पनि घरबाहिर निस्कन नपाउने गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।

स्थानीयप्रशासन ऐन–२०२८ को दफा ६ (३) तथा संक्रामक रोग ऐन, २०२० बमोजिम निषेधाज्ञा जारी गरिएको हो । बैठकले छिमेकी राष्ट्रबाट हुने सामग्री ढुवानीबाहेकका सबै प्रकारका आवागमनलाई अर्को आदेश नहुञ्जेल पूर्णरूपमा निषेध गरी सीमानाका बन्द गर्ने निर्णय गरिएको छ । जिल्लामा परीक्षणको दायरा बढाइएसँगै कोरोना संक्रमितको संख्या १ हजार नजिक पुगेको छ ।

 

Skip This