बिहीबारदेखि बैतडीमा लकडाउन



विनोदसिंह विष्ट, बैतडी
कोरोनाको संक्रमण बढ्दै गएको भन्दै बैतडीमा भदौ ४ गतेदेखि लकडाउन गरिने भएको छ । सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले संक्रमण बढ्दै गएको भन्दै ४ गतेदेखि भदौ १५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।
लकडाउनको उक्त अवधिका अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको नगरप्रमुख नरेन्द्रसिंह थापाले जानकारी दिनुभयो । कोरोना भाइरसको जोखिम बढ्दै गएकाले अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।
लकडाउनमा औषधि पसल, एम्बुलेन्स र अत्यावश्यक सवारीसाधन मात्रै नगर क्षेत्रभित्र सञ्चालन गर्न दिने निर्णय भएको छ । यस्तै नगर क्षेत्रभित्रका बैंकहरूलाई आइतबार, मंगलबार र बिहीबार हप्ताको तीनदिन मात्रै खुला राख्ने निर्णय भएको छ । यसै गरी गौरापर्वलाई मध्यनजर गरी दैनिक उपभोग्य सामग्रीका पसल, सिलाइ पसल र कपडा पसलले बिहान ७ देखि १० बजेसम्म र साँझ ४ बजेदेखि ६ बजेसम्म मात्रै खुला राख्ने निर्णय गरिएको छ ।
यस्तै धार्मिक स्थलहरूमा नित्य पूजाबाहेक भीडभाड हुने खालका सबै जात्रा, मेला स्थगित गरिएका छन् भने चाडपर्व आफ्नै घरभित्रै मनाउन आग्रह गरिएको छ । नगर क्षेत्रभित्र सबै प्रकारका भेला, गोष्ठी, तालिम, बैठक र सेमिनारमा रोक लगाइएको नगरपालिकाले प्रकाशित गरेको सूचनामा उल्लेख गरिएको छ ।
यस्तै नगरपालिका र ११ वटै वडा कार्यालयले अत्यावश्यक सेवाबाहेकका सबै सेवा बन्द गर्नेसमेत सूचनामा उल्लेख गरिएको छ । गौरा, तीजलगायतका चाडपर्वका बेला सदरमुकाम क्षेत्रमा अरू पालिकाको भन्दा बढी भीडभाड हुने भएकाले लकडाउन गर्ने निर्णय गरिएको दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दले जानकारी दिनुभयो ।
यस्तै डिलाशैनी गाउँपालिकाले एक सूचना जारी गर्दै कोभिड–१९ को संक्रमण बढिरहेकाले भीडभाड हुने खालका कार्यक्रम नगर्न आग्रह गरेको छ ।
गौरा पर्व नजिक आइरहेको सन्दर्भमा दैनिक नित्य पूजापाठबाहेक भीडभाड हुने खालका धार्मिक कार्यक्रम नगर्न अनुरोध गरेको छ ।
बैतडीमा हालसम्म ३ सय २३ जनामा कोरोना पुष्टि हुँदा ४ जना मात्रै सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्