१५ सशस्त्र प्रहरीसहित २० जनालाई कोरोना



बाँके, (नेस)
बाँकेमा आइतबार १५ जना सशस्त्र प्रहरीसहित २० जनालाई कोरोना देखिएको छ । भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा सशस्त्र प्रहरीका १५, ग्लोबल आइएमइका तीन जना, खजुरा र कोहलपुरका एकजनामा कोरोना देखिएको हो । जानकी गाउँपालिकामा ३० गते स्वाव संकलन गरिएको ९२ जनामध्येलाई कोरोना देखिएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
बाँकेमा दैनिक दर्जनबढीमा कोरोना देखा परिरहेको छ । स्थानीय प्रशासनले १३ दिन निषेधाज्ञा जारी गरेर हटाएको छ । भीडभाड हुन नदिन जोर, बिजोर नम्बरमा गाडी सञ्चालन भइरहेको छ ।
कोरोना देखिन थालेपछि पालिकाहरुले आफै लकडाउन गर्न थालेका छन् । कोहलपुर नगरपालिका र जानकी गाउँपालिकाले लकडाउनको निर्णय गरेका हुन् । कोहलपुरमा आइतबारदेखि नै लकडाउन शुरु भएको छ भने जानकीले आइतबार राती १२ देखि लकडाउन गर्ने निर्णय गरेको छ । दुवै पालिकाले भदौ ५ गतेसम्म लकडाउन गरेका छन् ।
पछिल्लो पटक क्वारेन्टाइनमा बसेका भन्दा अन्यमा कोरोना बढी देखा परिरहेको छ । बाँकेको पालिकामा हाल २ सय ५८ जना बसिरहेका छन् । जिल्लामा अहिले १० वटा क्वारेन्टाइन छन् । नेपालगञ्जमा ६६, कोहलपुरमा ७०, खजुरामा ३८, जानकीमा ११, डुडुवामा २३, नरैनापुरमा २ र राप्तीसोनारी गाउँपालिकामा १८ जना बसिरहेका छन् । बैजनाथ गाउँपालिकामा क्वारेन्टाइन बनाइएपनि राख्ने गरिएको छैन ।
जिल्लामा डिस्चार्ज हुने क्रम पनि जारी नै छ । आइतबारमात्रै ९ जना डिस्चार्ज भएका छन् । फोकलपर्सन श्रेष्ठका अनुसार, जिल्लामा अहिलेसम्म ४ सय ४४ जना डिस्चार्ज भएका छन् । हाल आइसोलेसनमा २ सय ५९ जना बसिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्