मह जोडीलाई चैत्यदेवी सिंह पुरस्कार



तिप्राप्त हास्यव्यंग्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई राजधानीमा हालै आयोजित एक समारोहबीच पुरस्कार प्रदान गरिएको छ। भुवन चैत्य वसुन्धरा फाउन्डेसनले यस वर्षको चैत्यदेवी सिंह पुरस्कार महजोडीलाई प्रदान गरेको हो।
५१ हजार रुपियाँ राशिसहितको पुरस्कार सामाजिक दूरी कायम गर्दै थोरै सहभागीबीच राजधानीमा अयोजित कार्यक्रममा प्रदान गरिएको हो। फाउन्डेसनकी अध्यक्ष तथा अभिनेत्री वसुन्धरा भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मह जोडीलाई नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले रुद्राक्षको माला लगाइदिएका थिए। त्यसै गरी नेपालकी प्रथम अभिनेत्री भुवन चन्द र उनका सञ्चारकर्मी पति हरीश चन्दले दोसल्ला ओढाएर सम्मान गरेका थिए। कोभिड–१९ कोरोनाको संक्रमण बढिरहेको अवस्थालाई मध्यनजर राख्दै ठूलो जमघट नगरी आयोजना गरिएको फाउन्डेसनकी अध्यक्ष भुसालले जानकारी गराइन्। यसअघि केही दिनअघि मात्र ५ दशकदेखि नेपाली फिल्म र रंगमञ्चमा अनवरतरूपमा सेवारत विशिष्ट रंगकर्मी तथा चरित्र अभिनेत्री शकुन्तला शर्मालाई चेतनारायण वसुन्धरा भुसाल पुरस्कार र ६ दशकभन्दा बढी समयदेखि नेपाली रंगमञ्च तथा नृत्य निर्देशनको क्षेत्रमा कार्यरत भैरव बहादुर थापालाई हरीश भुवन चन्द पुरस्कार प्रदान गरिएको थियो। दुवै पुरस्कारको राशि जनही ५१ हजार रुपियाँ रहेको थियो।
फाउन्डेसनले स्थापना वर्षको पुरस्कार गत वर्ष चलचित्र विकास बोर्डअन्तर्गतको चलचित्रकर्मी कल्याण कोषलाई १ लाख ५३ हजार रुपियाँ प्रदान गरेको थियो।

प्रतिक्रिया दिनुहोस्