बाढीपहिरोमा परी मर्नेको संख्या २ सय ६६



नेपाल समाचारपत्र, काठमाडौं

यस वर्षको मनसुन शुरु भएपछि गएको बाढी र पहिरोमा परी मर्नेको संख्या २ सय ६६ पुगेको छ भने ७८ जना बेपत्ता भएका छन । यसपटक वर्षा अत्यधिक भएका कारण नसोचेको ठाउँमा समेत पहिरो जाँदा जनधनको क्षति बढी भएको छ ।

मुलुकमा कोरोना संक्रमणले आक्रान्त पारिरहेका बेला बाढीपहिरोका कारण मर्नेको संख्या अत्यधिक बढेको गृह मन्त्रालयले जनाएको छ । यसपटक बाढीले भन्दा पनि पहिरोको कारण ज्यान जानेको संख्या बढी रहेको गृह मन्त्रालयको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

यसपटक पहिरोमा परेर मात्रै २ सय ६ जनाको मृत्यु भएको छ भने ६६ जना बेपत्ता र १ सय ६० भन्दा बढी घाइते भएका छन । बाढीमा परेर ११ जनाको मृत्यु भएको छ भने चट्याङमा परेर २१ जना मारिएका छन, ४६ जना घाइते भएका छन ।

यसपटक प्राकृतिक प्रकोपमा ६० जिल्ला प्रभावित भएका छन भने पहिरोमा परेर यस वर्ष सबैभन्दा बढी सिन्धुपाल्चोकमा मर्ने र बेपत्ता हुनेको संख्या बढी रहेको प्राधिकरणले जानकारी दिएको छ । सिन्धुपाल्चोकमा २२ जनाको मृत्यु भएको छ भने ४१ जना अझै बेपत्ता छन ।

सिन्धुपाल्चोकपछि सबैभन्दा बढी क्षति म्याग्दीमा भएको छ । म्याग्दीमा २७ जनाको मृत्यु भएको छ भने ४ जना अझै बेपत्ता अवस्थामा रहेका छन ।

मनसुन अझै सक्रिय रहेकाले बाढी र पहिरोको जोखिम कायमै रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले देशभर अझैै संकट टरिनसकेकाले सतर्क रहन समेत सबैलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्