२४ घण्टामा ८६ जना संक्रमित



विराटनगर, (नेस)
मोरङमा ६४ जनासहित गएको २४ घण्टामा प्रदेश १ मा ८६ जना कोरोना संक्रमित थपिएका छन् ।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार शनिबार प्रदेशमा ५४ पुरुष र ३२ महिलालाई संक्रमण पुष्टि भएको छ । संक्रमण देखिएकामध्ये विराटनगरमा ४० जना छन् । जसमा २१ पुरुष र १९ महिला रहेका छन् । यस्तै रंगेलीमा ६ पुरुष र ३ महिला गरी ९ जना छन् । धनपालथान गाउँपालिकामा ५ महिला, जहदामा ३, बूढीगंगामा २, सुन्दरहरैचामा २, सुनवर्षी, कानेपोखरीमा १–१ जनालाई संक्रमण देखिएको छ ।
उता सुनसरीमा १७ पुरुष र २ महिला गरी १९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा ९ पुरुष र २ महिला गरी ११ जना, रामधुनीमा ५ पुरुष र बर्जुमा ३ पुरुषमा कोरोना पुष्टि भएको छ । यसै गरी ओखलढुंगा, तेह्रथुम र उदयपुरमा १–१ जनामा संक्रमण देखिएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १९ सय ७ पुगेको छ । अहिलेसम्म प्रदेशमा कोरोनाबाट १३ जनाको मृत्यु भएको छ । जसमध्ये ९ जना मोरङका हुन् भने ४ जना प्रदेश नं. २ का हुन् ।

सरकार असफल भएको कांग्रेसको आरोप
यसैबीच प्रदेश–१ मा कोरोनाबाट संक्रमित बढ्दै जाँदा नेपाली कांग्रेसले प्रदेश–१ सरकार कोरोना भाइरसको नियन्त्रण, रोकथाम र उपचारमा पूर्णरूपमा असफल भएको आरोप लगाएको छ । शनिबार भर्चुअल पत्रकार सम्मेलन गरी नेपाली प्रदेशसभामा नेपाली कांग्रेसका प्रमुख सचेतक कार्कीले सरकारले सत्तामा रहने नैतिक अधिकार पनि गुमाइसकेको टिप्पणी गर्नुभयो । कोभिड–१९ उपचार केन्द्र पर्याप्त अक्सिजन, भेन्टिलेटर र शय्या अभाबमा कोरोना संक्रमितको अकालमा ज्यान गइरहेको भन्दै कार्कीले प्रदेश सरकारले कामभन्दा धेरै हल्ला मात्र गरिरहेको दाबी गर्नुभयो । ‘विराटनगरमा १० दिनमा के–के न गरें भनेर प्रचार गर्दै चैत २१ गते कोभिड–१९ अस्पतालको उद्घाटन गरेको थियो’, उहाँले भन्नुभयो– ‘तर, ३ करोडभन्दा बढी खर्च गरेर सञ्चालनमा ल्याइएको अस्पतालमा अक्सिजनको अभावमा बिरामी छट्पटाएर मृत्युको मुखमा पुग्ने अवस्था दुर्भाग्यपूर्ण छ ।’
कार्कीले उद्घाटनका अवसरमा प्रदेश सरकारले विराटनगरको कोभिड–१९ अस्पताललाई लेभल–२ को बनाइने घोषणा गरेको भए पनि बिरामीले सहजरूपमा शौच जानसमेत नपाएको अवस्थाले सरकारको दाबी हावादारी भएको पुष्टि हुने बताउनुभयो । अस्पतालमा बिरामीलाई भेडाबाख्राझैं राखिएको र न्यूनतम मानवीय व्यवहारसमेत नगरिएको उहाँको दाबी छ ।

 

प्रतिक्रिया दिनुहोस्