कान्ति लोकपथमा वर्षेनी क्षति, पहिरो रोकथाममा छैन ध्यान



नेपाल समाचारपत्र, काठमाडौं

मनसुन भित्रिएसँगै परेको अविरल वर्षाले कान्तिलोकपथमा ठूलो क्षति पुगेको छ । राष्ट्रिय प्राथमिकता प्राप्त उक्त सडकका विभिन्न भागमा पहिरो गएका छ । कुनै ठाउँमा सडक पूरै बगाएको छ भने सडकका अधिकांश भाग क्षतविक्षत भएको छ ।

वर्षेनी वर्षातका समयमा क्षति भइरहने यो सडक अघिल्लो वर्षामा ३५ करोडको क्षति भएको आँकलन गरिएको थियो भने यस वर्ष क्षतिको मूल्यांकन भइनसके पनि १ अर्बभन्दा बढीको क्षति भएको सडक आयोजनाका इन्जिनियर अमिन्द्र खड्काले जनाकारी दिनुभयो । ‘योपटक सडकमा निकै क्षति भएको देखिन्छ । सर्भे त भएको छैन तर सरसर्ती हेर्दा अर्ब बढीको क्षति भएको देखिन्छ’ –उहाँले भन्नुभयो ।

काठमाडौंसँग तराई जोड्ने छोटो र वैकल्पिक मार्गका रुपमा यस सडकलाई लिने गरिएको छ । कान्ति लोकपथ सडक योजना र सडक विभागको प्राविधिक टोली बनाएर क्षतिको अध्ययन गरिने इन्जिनियर खड्काले बताउनुभयो । ‘के कति क्षति भयो भन्ने विषयमा अध्ययन गर्न योजना र विभागको प्राविधिक टोली गठन गरी अध्ययन गरिने पनि उहाँले जानकारी दिनुभयो ।

ललितपुरको टीकाभैरवदेखि मकवानपुरको ठिंगनलगायतका भागमा पहिरोले क्षति पु¥याउनुका साथै सडकको संरचनासमेत बगाएको छ । ललितपुरको नर्सरीमोड, बिर्खेधारा, काल्चेलगायत क्षेत्रमा ठूलो पहिरो गएको छ भने भालुखोला, नयाँगाउँ, कोटडाँडालगायत दुई दर्जन स्थानमा सडक भासिएको छ । सुख्खा याममा सुख्खापहिरोको जोखिम रहेको यस सडक खण्डमा विस्तारको काम थालेपछि ठूलठूला पहिरोको जोखिम बढिरहेको इन्जिनियर खड्काले बताउनुभयो ।

सरकारले यस सडकमा पहिरो रोकथामभन्दा पनि सडक चौडा गरी सञ्चालनका लागि जिम्मा दिएकाले पहिरोलाई वास्ता नगर्दा यस्तो दुर्गति व्यहोर्नुपरेको योजनाका एक उच्च अधिकारीले जानकारी दिए । ‘सडक पहिरोको उच्च जोखिम रहेको थाहा पाए पनि पहिरो रोकथामको योजना र सडक विस्तार एकैपटक लैजानुपर्नेमा त्यस्तो भएन । यो सरकारको ठूलो भूल हो’ –ती अधिकारीले भने । पहिरो लगातार आइरहने भएर त्यसको रोकथामका लागि अध्ययन गरी सरकारसँग १ अर्ब बढी रुपियाँ बजेट माग गरेको पनि ती अधिकारीले जानकारी दिए ।

७९ किलोमिटर सडक खण्डमध्ये ४५ किमि खण्ड कालोपत्रे, २९ किमिमा ग्राभेल गर्ने काम सम्पन्न गरिसकेको छ । ५ किमि खण्ड भने कच्ची र एक लेनको मात्रै रहेको छ । यो कडा चट्टानको भाग भएकाले प्रगति हुन नसकेको योजनाको दाबी छ । ३ अर्ब ३५ करोड रुपियाँ लागत अनुमान गरिएकोमा अहिलेसम्म २ अर्ब ५१ करोड रुपियाँ खर्च भइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्