प्रेमी–प्रेमिकाको भिडन्तमा प्रेमीको ज्यान गयो



लक्ष्मणलाई खुकुरी प्रहार गर्ने शेर्पा

नेपाल समाचारपत्र, काठमाडौं
आफ्नै श्रीमती र पूर्वप्रेमिकाले ग्याङ खडा गर्दा मनमैजुमा नुवाकोटका एक युवाले ज्यान गुमाएका छन । शुक्रबार राति भएको उक्त घटनाको अनुसन्धान गरिरहेको प्रहरीले लक्ष्मण तामाङको ज्यान जानमा श्रीमती सोनु श्रेष्ठ र पूर्वप्रेमिका पुष्पा पन्तले तयार पारेको ग्याङ नै मुख्य रहेको बताएको छ ।

उक्त घटनाको अनुसन्धान गरिरहेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाका अनुसार दुवै महिलाले ग्याङ खडा गरेर झगडा गर्दा तामाङको ज्यान गएको देखिन्छ ।

प्रहरीले उक्त घटनाका मुख्य अभियुक्त दोलखाका आङदोर्जे शेर्पालाई पक्राउ गरेपछि उक्त रहस्य बाहिर आएको छ । प्रहरीका अनुसार शुरुमा मृतक तामाङकी श्रीमती सोनु र तामाङकै पूर्वप्रेमिका पन्तबीच झगडा भएको र दुवै समूह आ–आफ्नो शक्ति देखाउन भाडामा केटाहरु ल्याएर झगडा गर्दा उनको ज्यान गएको हो ।

सोनुले पुष्पासँग बदला लिन शुक्रबार श्रीमान् लक्ष्मण र भाइ समीर लक्ष्मणका दाइ शंकरलाई समेत बोलाएर ल्याएपछि पुष्पाले पनि शेर्पासहितको केटाहरुलाई पैसा दिएर आक्रणम गराउन लगाएको देखिएको उक्त घटनाको अनुसन्धान गरिरहेको महानगरीय अपराध महाशाखाका एक अनुसन्धान अधिकृतले जानकारी दिए ।

‘लक्ष्मणकी पूर्वप्रेमिका पुष्पाले पनि भाडामा शेर्पासहित दिनेश तामाङ र रविन तामाङलाई घटना भएको ठाउँमा बोलाएको देखिन्छ’ –ती अनुसन्धान अधिकृतले भने ।

‘दुई समूहबीच झडप भएपछि श्रीमती छुट्याउन गएका लक्ष्मणमाथि शेर्पाले चक्कु प्रहार गरेको र उनको पेटमा चक्कु लागेपछि ग्रिनसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको देखिन्छ’ –ती अधिकृतले भने ।

झडपमा परी सोनु, मृतक लक्ष्मणका दाइ शंकरसमेत घाइते भएका थिए । पुष्पाले भाडामा ल्याएकी दिनेश तामाङ समेत उक्त घटनामा परी घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

मनमैजुको मितेरी पुल नजिकै भएको उक्त काण्डमा संलग्न रहेको आशंकामा प्रहरीले ४ युवालाई पक्राउ गरी बयान लिँदा उक्त रहस्य बाहिर आएको एसएसपी थापाले जानकारी दिनुभयो । प्रहरीले लक्ष्मणकी श्रीमती सोनु र पूर्वप्रेमिका पुष्पालाई समेत पक्राउ गरेर सोधपुछ गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्