राष्ट्रपति ट्रम्पका भाईको अवस्था गम्भीर,उपचार जारी



वासिंगटन,(एजेन्सी)

आफ्नो भाईको स्वास्थ स्थिती बुझ्न न्युयोर्क सिटी हस्पिटल पुगेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भाइले निकै दुख पाइरहेको प्रतिक्रिया दिएका छन् । शुक्रवार अपरान्ह मास्क लगाएर न्युयोर्क – प्रेस्विटरियन हस्पिटल प्रवेश गरेका उनी त्यहाँ करिव ४५ मिनेट बसेका थिए ।

अमेरिकी संचार माध्यमले ७२ वर्षिय रोवर्ट ट्रम्प गम्भीर बिरामी भएको जनाए पनि रोगकोबारेमा स्पष्ट केहि खुलाएको छैन । उनले ट्रमपको प्रपर्टी एम्पायरको रियल स्टेट कारोवार व्यवस्थापन गर्दै आएका थिए । राष्ट्रपति ट्रम्पले अस्पताल परिसरमा पत्रकारहरुलाई भाईको स्थिती गम्भीर भएपनि उनी स्वस्थ हुने कुरामा आफु आशावादी रहेको बताएका छन् ।

७४ वर्षिय ट्रम्प त्यहाँबाट सिधै सप्ताहान्त मनाउन न्यु जर्सिको बेडमिन्स्टर नजिकको आफ्नो निजी गल्फ क्लब तर्फ प्रस्थान गरेका थिए ।
उनले आफ्नो भाईको प्रशंसा गर्दै लामो समयदेखि आफूहरुबीच सुमधुर सम्बन्ध रहेको बताएका छन् ।

रोवर्टले हालैमात्र आफ्नी भतिजी मेरी ट्रम्पले राष्ट्रपति ट्रम्पबारे लेखेको पुस्तक ‘हाउ माइ फेमिली क्रियटेड दि वल्र्डस मोस्ट डेन्जरस म्यान’ को प्रकासन रोक्न अदालतमा असफल प्रयास गरेका थिए । न्युयोर्क पोस्टकाअनुसार गत जुनमा पनि रोवर्टले म्यानह्याटनको माउन्ट सिनाइ हस्पिटलको सघन उपचार कक्षमा एक साता भन्दा लामो समय बिताएको जनाएको छ । अमेरिकी राष्ट्रपति भवन व्हाइट हाउसका प्रवक्ता जुड डिरले न्युयोर्क पोस्टको कथनलाई पुष्टि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्