सृष्टिसँग निराजनको रोमान्टिक साँझ



कोरोना संक्रमणबाट हुने कोभिड–१९ को जोखिलाई न्यूनीकरण गर्न सरकारले लगाएको लकडाउन खुलेसँगै फिल्मका कामहरू अगाडि बढ्न नसके पनि गीत संगीत र म्युजिक भिडियो धमाधम निर्माण भइरहेका छन्।
लकडाउन खुलेसँगै फिल्मका कलाकारहरू म्युजिक भिडियोमा व्यस्त हुन थालेका छन्।

एकपछि अर्को गर्दै कलाकारहरू म्युजिक भिडियोमा देखिन थालेका छन्। नेपाल सुन्दरी तथा नायिका सृष्टि श्रेष्ठ लकडाउनअघि अभिनेता सौगात मल्लका साथ तीन जन्तु नामक फिल्मको सुटिङ गरिरहेकी थिइन्। लकडाउनले सुटिङ बीचैमा बिथोलिएपछि अन्य कलाकार जस्तै सृष्टिको दैनिकी सामाजिक सञ्जालमा खुम्चिएको थियो। सरकारले चरणबद्धरूपमा लकडाउन खुकुलो गर्दै हटाएपछि अरू कलाकारजस्तै सृष्टि पनि म्युजिक भिडियोमा देखिएकी छिन्।

यसै क्रममा उनले अभिनय गरेको साँझ बोलको रोमान्टिक गीतका म्युजिक भिडियो बिहीबार सार्वजनिक भएको छ। भिडियोमा उनले मोडल निराजन प्रधानसँग स्क्रिन शेयर गरेकी छिन्। गीतमा दिनेश शंकरको शब्द, संगीत र स्वर रहेको छ भने भिडियो विवेक रसाइलीले निर्देशन गरेका छन्। भिडियोमा सानो असमझारीमै पर हुन लागेको जोडीलाई मायाले फर्काएको कथा प्रस्तुत गरिएको छ। उज्ज्वल जोशीको कलर, सम्पादन र छायांकन रहेको गीत नोभिया शंकरले निर्माण गरेकी हुन्।

प्रतिक्रिया दिनुहोस्