दुई वकिलको लाइसेन्स खारेज हुन सक्ने



नेपाल समाचारपत्र, काठमाडौं

नेपाल कानुन व्यवसायी परिषद्ले दुई जना कानुन व्यवसायीको प्रमाणपत्र खारेज हुन सक्ने जनाएको छ ।
कानुन व्यवसायीको आचारसंहिता उल्लंघन गरेकाले कारबाहीका लागि परिषद्मा उजुरी परेपछि प्रमाणपत्र खारेज गर्नेसम्मको सजाय हुन सक्ने परिषद्ले जनाएको हो ।
परिषद्को अनुशासन समितिले यस्तो सजायको प्रस्ताव गरी स्पष्टीकरण दिन माग गरेको छ । समितिले १५ दिनभित्र सजाय गर्नु नपर्ने चित्तबुझ्दो स्पष्टीकरण पेस गर्न भनेको परिषद्का सचिव रामहरि काफ्लेले जानकारी दिनुभयो ।
अधिवक्ताहरु अरबिन्दकुमार झा (प्र.प.नं.३१४६) र गुणराज निरौला (प्र.प.नं.६३१७) लाई प्रमाणपत्र रद्द किन नगर्ने भन्दै परिषद्ले स्पष्टीकरण सोधेको हो ।
अधिवक्ता झाले नेपाल बार एसोसिएसन जनकपुरको कोषाध्यक्ष रहँदा रकम हिनामिना गरी कानुन व्यवसायीको आचारसंहिता, २०५१ को नियम ३ (१) (झ) र (ल) विपरीतको कसूर गरेको परिषद्को अनुशासन समितिले ठहर गरेको छ । समितिले निजले उक्त नियमविपरीत कसूर गरेकाले ‘आचारसंहिताको नियम ७ (३) बमोजिम तपार्इंको कानुन व्यवसायीको प्रमाणपत्र रद्द किन गर्नु नपर्ने हो ?’ भनेको छ ।
आचारसंहिताको ३ (१) (झ) कुनै कानुन व्यवसायीले ‘संघसंस्थाको रकम मास्न खान हुँदैन भनिएको छ भने (ल) मा भ्रष्टाचार गर्न गराउन हुँदैन’ भनी उल्लेख गरेको छ ।
यस्तो कसूर गरेको खण्डमा नियम ७ (३) बमोजिम कानुन व्यवसायीको प्रमाणपत्र रद्द गरिने आचारसंहितामा उल्लेख छ ।
त्यस्तै अर्का अधिवक्ता निरौलाले भक्तपुर जिल्ला अदालतबाट सरकारी छाप दस्तखत कीर्ते र ठगी मुद्दामा सजाय भई उक्त फैसला अन्तिम भएकाले आचारसंहिताको नियम ३ (१) (व) विपरीतको कसूर गरेको समितिले ठहर गरेको छ ।
जसअनुसार नियम ७ (३) बमोजिम तपाईंको कानुन व्यवसायी प्रमाणपत्र रद्द किन गर्नु नपर्ने हो भन्दै निजलाई समितिले स्पष्टीकरण सोधेको छ । आचारसंहिताको नियम ३ (१) (व) मा नैतिकपतन देखिने फौजदारी अपराध गर्नु हुँदैन भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्