कमेडी च्याम्पियन पन्तलाई दिइयो २८ लाख बराबरको कार



नायिका केकी अधिकारीको निर्माणमा तयार पारिएको नेपालकै पहिलो कमेडी रियालिटी शो कमेडी च्याम्पियनका विजेता हिमेश पन्तलाई उपाधिबापत पूर्वघोषित उपहारस्वरूप २८ लाख रुपियाँको कार प्रदान गरिएको छ।
बुधबार कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारी, निर्माता केकी अधिकारी र कान्तिपुर टेलिभिजनका प्रमुख दिनेश डिसीले केमेडी च्याम्पियन हिमेश पन्तलाई कार प्रदान गरेका हुन्।

‘नेपालको पहिलो कमेडी रियालिटी शो कमेडी च्याम्पियनको पहिलो सिजनको विजेता हिमेश पन्तलाई हामीले घोषणा गरेअनुरूप २५ लाख रुपियाँ पुरस्कार राशि र कारद्वारा पुरस्कृत गरेका छौं। कमेडी च्याम्पियनको पहिलो सिजनले यसैका साथ पूर्णता पाएको छ’, शोको सफलता र हिमेशलाई कार प्रदान गरिएपछि केकीले फेसबुकमा स्ट्याटस लेख्दै भनेकी छिन्– ‘कार्यक्रमको निर्मात्रीका रूपमा तपाईंहरूसँग साट्न शब्दहरूले वर्णन गर्न नसकिने भावनाका ज्वारभाटा मात्रै छन्।

धन्यवाद भनौं, धन्यवादहरू अपर्याप्त लाग्दै छ। खुसीले रोउँ भने लाखौं मुस्कानका झ–झल्को र तपाईंहरूको शुभाशिषले मलाई साहसिलो बनाइदिएको छ। एउटा शुरुआतको खुसी र एउटा चक्रको अन्त्यको दुःख बीचको असमन्जसमा यहाँ उभिँदै गर्दा मसँग आफ्ना अनुभवका सारांश र भविष्यका लागि प्रणहरू मात्रै छन्।’

केकीको भनाइ छ– ‘वास्तवमा यो कार्यक्रम अब एउटा सामान्य रियालिटी शो मात्र रहेन। यो कार्यक्रम त खासमा आगोको झिल्कोको कथा हो। हावाहुरीबीच त्यो झिल्कोलाई निभ्न नदिने हत्केलाहरूको कथा हो। त्यसैमा ऊर्जा थपिदिने इन्धनहरूको कथा हो। र त्यो रापमा पग्लिने धातुहरूको कथा हो। त्यही रापमा पग्लिएर धातुहरू मूर्ति बन्यो। कलम बन्यो। हतियार बन्यो।

त्यो आगोको झिल्को बोकी आउने यस कार्यक्रमका निर्देशक विशाल दाइलाई बधाई दिन चाहन्छु। त्यो झिल्कोलाई निभ्न नदिने निर्माताहरूको टिम र सञ्चालिका मेरो साथी रीमा एवं सम्पूर्ण निर्णायकहरूलाई सम्झिन चाहन्छु।’ कार्यक्रमको सफलताप्रति भावुक हुँदै केकीले भनेकी छिन्– ‘विशेष गरी यो रापमा पग्लिएर मूर्ति, कलम र हतियार बनेका आ–आफ्नो आकार ग्रहण गर्न सफल सबै सहभागीलाई उज्ज्वल भविष्यको असीम शुभकामना दिन चाहन्छु। सहभागी बनेर आउनु भो, अहिले यो देशले चिन्ने कलाकार बनिसक्नुभएको छ। तपाईंहरूको हर दिन शुभ होस्।’

केकीलाई लाग्छ– ‘कार्यक्रमले हासैहासोको सम्झना बीच केही महŒवपूर्ण सन्देश पनि दिएको छ। एक जना मधेसीलाई नेपाली बन्न भगवान् बन्नु पर्दैन रहेछ भन्ने कुरा यो कार्यक्रमबाट प्रमाणित भइसकेको छ। एकचोटि ठेस लाग्दैमा यात्रा सकिँदैन, लडेर उठ्नेहरू नै गन्तव्यसम्म पुग्न सक्छन् भन्ने कुरा पनि प्रमाणित भएको छ।

भौगोलिक विकटतामा पनि सपनाहरू अंकुराउँदोरहेछ, परिस्थिति प्रतिकूल भए पनि साहस गर्नेहरू सफल हुन्छन् भन्ने कुरा पनि प्रमाणित भएको छ। यो मञ्चले जात, धर्म, लिंग, वर्ण र भूगोलको आधारमा विभेद गर्दैन, सपना देख्नेहरूको सारथी बन्छ भन्ने कुरा पनि प्रमाणित गरिदिएको छ।’

केकीका अनुसार कमेडी च्याम्पियन अब नियमितरूपमा अगाडि बढ्नेछ। ‘यो यात्राको बल्ल शुरुआत मात्रै भएको हो।’ –केकीको भनाइ छ। उनको अनुसार उपाधि जितेबापत हिमेशलाई प्रदान गरिएको कारको बजार मूल्य २८ लाख रुपियाँ रहेको छ। उपाधिबापत नै नगद १५ लाख रुपियाँ भने कार्यक्रमको फाइनलका दिन प्रदान गरिएको थियो।

कमेडी च्याम्पियनको दोस्रो सिजन घोषणा भइसकेको छ। कमेडी च्याम्पियनमा ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता सन्तोष पन्त, हास्यव्यंग्यकार मनोज गजुरेल, नायिका ऋचा शर्मा र फिल्म निर्देशक प्रदीप भट्टराई निर्णायक रहेका थिए भने रीमा विश्वकर्मा निर्मात्रीका साथमा कार्यक्रम सञ्चालिका थिइन्। कार्यक्रम नायिका केकी अधिकारीका साथमा विशाल भण्डारी, राज घिमिरे, रेशु तामाङ र प्रकाश बसेलले निर्माण गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्