जाली नोट कारोबारी अन्सारी निजगढबाट पक्राउ



गोकुल घोरसाइने, बारा
कमलादी सुन काण्डका मुख्य नाइके एवं जाली नोट कारोबारी इल्ताफ हुसेन अन्सारी बिहीबार बाराको निजगढ बजारबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साको टोली अन्सारीलाई इलाका प्रहरी कार्यालय निजगढको सहयोगमा पूर्वपश्चिम राजमार्गको निजगढस्थित बुद्धचोक नजिकबाट पक्राउ गरेको हो ।
मोटरसाइकलमा पछाडि बसेर पूर्वतर्फबाट आउदै गर्दा पिछा गर्दै आएको पर्साको टोलीले निजगढमा रोकेर हातपात गर्न थालेपछि अन्सारीले उल्टै पेस्तोल देखाएर भाग्ने प्रयास गरेका थिए । पेस्तोल देखाएर भाग्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय निजगढबाट पुगेको टोलीको मद्दतमा अन्सारी पक्राउ परेको स्थानीयले बताएका छन् । ‘प्रहरीलाई बन्दुक देखाउँदै तर्साएर भागिसकेको थियो’, प्रत्यक्षदर्शी स्थानीय श्याम साहले भन्नुभयो– ‘तत्काल थप टोली नपुगेको भए उम्कन पनि सक्थ्यो ।’
अन्सारीलाई नियन्त्रणमा लिने क्रममा झडपको अवस्था देखिएपछि निजगढ बजारमा तनाव सृजना भएको थियो । मोटरसाइकल चालक भने भाग्न सफल भएको इलाका प्रहरी कार्यालय निजगढका निरीक्षक विकास थपलियाले बताउनुभयो । पर्सा टोली र स्थानीय प्रहरीबीच समन्वय अभावमा चालक फरार भएको निरीक्षक थपलियाले बताउनुभयो ।
बाराको साविक प्रस्टोका गाविस–४ निवासी अन्सारी २८ असार २०६८ सालमा बरामद भएको ५४ लाख ९५ हजार नक्कली भारतीय रुपियाँको मुख्य कारोबारी भएको बताइएको छ । घटनापछि फरार उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले २०७२ जेठमा पक्राउ गरेको थियो । पछिल्लोपटक ७ करोड ६७ लाख ९४ हजार भारतीय नक्कली नोटसहित समातिएका युनुस अन्सारीसँग पनि उनको निकट सम्बन्ध छ ।
युनुसपछि नेपालमा नक्कली भारतीय नोट कारोबार गर्ने व्यक्ति उनी थिए । प्रारम्भमा युनुसकै समूहमा भए पनि पछिल्लो पटक उनले आफ्नै समूह सञ्चालन गरिरहेका थिए । अन्सारी पाकिस्तान र भारत दुवै मुलुकका लागि सूचना दिने व्यक्ति पनि हुन् । उनलाई प्रहरी अधिकृतहरु ‘डबल एजेन्ट’का रुपमा चिन्छन् । अन्सारीले हरेक अपराधमा फरक÷फरक नाम बताएर संलग्न हुने गरेका छन् ।
अन्सारी पछिल्लो १५ किलो सुनचाँदी प्रकरणमा मुछिएका छन् । प्रकरणमा उनको बा६च ५५११ नम्बरको स्कोर्पियो गाडी प्रयोग भएको थियो । काठमाडौंको कमलपोखरीबाट अन्सारीको गाडीलाई प्रहरीले पछ्याएपछि सुनचाँदी भएको झोला फ्याँकेर स्कर्पियो भागेको थियो । त्यसयता महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरी परिसर, टेकुले उनको खोजीलाई तीव्र बनाउँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्