दुई वकिलको लाईसेन्स खारेज हुन सक्ने



न्युज अफ नेपाल, काठमाडौं ।
नेपाल कानून व्यवसायी परिषदले दुई जना कानून व्यवसायीको प्रमाणपत्र खारेज हुन सक्ने जनाएको छ
कानून व्यवसायीको आचारसंहिता उल्लंघन गरेकोले कारवाहीका लागि परिषदमा उजूरी परेपछि प्रमाणपत्र खारेज गर्नेसम्मको सजाय हुन सक्ने परिषदले जनाएको हो ।

परिषदको अनुशासन समितिले यस्तो सजायको प्रस्ताव गरी स्पष्टीकरण दिन माग गरेको छ । समितिले १५ दिन भित्र सजाय गर्नु नपर्ने चित्त बुझ्दो स्पष्टीकरण पेश गर्न भनेको परिषदका सचिब रामहरी काफ्लेले जानकारी दिनुभयो । अधिवक्ताहरु अरबिन्दकुमार झा (प्र.प.नं. ३१४६) र गुणराज निरौला (प्र.प.नं.६३१७)लाई प्रमाणपत्र रद्द किन नगर्ने भन्दै परिषदले स्पष्टिकरण सोधेको हो ।

अधिवक्ता झाले नेपाल बार एशोसिएशन, जनकपुरको कोषाध्यक्ष रहँदा उक्त बार एशोसिएशनको रकम हिनामिना गरी कानून व्यवसायीको आचारसंहिता, २०५१ को नियम ३(१) (झ) र (ल) विपरितको कसूर गरेको परिषदको अनुशासन समितिले ठहर गरेको छ । समितिले निजले उक्त नियम विपरित कसुर गरेकोले ‘आचारसंहिताको नियम ७(३) बमोजिम तपाईको कानून व्यवसायीको प्रमाणपत्र रद्द किन गर्नु नपर्ने हो ?’, भनेको छ ।

आचारसंहिताको ३ (१) (झ) कुनै कानून व्यवसायीले ‘संघ संस्थाको रकम मास्न खान हुँदैन भनिएको छ भने (ल)मा भ्रष्टाचार गर्न गराउन हुँदैन’ भनि उल्लेख गरेको छ ।  यस्तो कसूर गरेको खण्डमा नियम ७(३) बमोजिम कानून व्यवसायीको प्रमाणपत्र रद्द गरिने आचारसंहितामा उल्लेख छ ।

त्यस्तै अर्का अधिवक्ता निरौलाले भक्तपुर जिल्ला अदालतबाट सरकारी छाप दस्तखत किर्ते र ठगी मुद्दामा सजाय भई उक्त फैसला अन्तिम भएकोले आचारसंहिताको नियम ३(१) (व) विपरितको कसूर गरेको समितिले ठहर गरेको छ ।

जसअनुसार नियम ७(३) बमोजिम तपाईको कानून व्यवसायी प्रमाणपत्र रद्द किन गर्नु नपर्ने हो ?भन्दै निजलाई समितिले स्पष्टिकरण सोधेको छ । आचारसंहिताको नियम ३(१) (व)मा नैतिक पतन देखिने फौजदारी अपराध गर्नु हुँदैन भनिएको छ।

प्रतिक्रिया दिनुहोस्