महालक्ष्मीका अत्यावश्यक सेवाबाहेक सबै बन्द



पुष्पराज भट्टराई, काठमाडौं
पछिल्लो समय काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न स्थानमा कोभिड–१९ सङ्क्रमितहरुको संख्या दिन प्रतिदिन बढ्दै गएपछि सङ्क्रमण फैलने जोखिम उच्च रहेकाले ललितपुर जिल्लास्थित महालक्ष्मी नगरपालिकाका अत्यावश्यक सेवाबाहेकका अन्य सबै सेवा बन्द गरिएका छन् ।
महालक्ष्मी नगरपालिकाले विज्ञप्ति जारी गर्दै कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जुट्न सम्पूर्ण नगरवासी दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक अनुरोधसमेत गरेको हो ।
विज्ञप्तिअनुसार अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन नगरवासीलाई आग्रहसमेत गरिएको छ ।
सम्भावित जोखिमबाट जोगाउन र थप क्षति हुन नदिनका लागि नगरपालिका र यसअन्तगर्तका सबै वडाबाट प्रदान गरिने सेवासमेत १५ दिनका लागि बन्द गरिएको नगरप्रमुख रामेश्वर श्रेष्ठले बताउनुभयो । ‘नगरवासीहरुको स्वास्थ्य सुरक्षा नगरपालिकाको प्रथम दायित्व भएकाले नगरपालिकाले कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सचेतना, स्वास्थ्य सुरक्षा, जोखिम न्यूनीकरण एवं उपचारका लागि हरसम्भव प्रयास गरिरहेका छौं’ –उहाँले भन्नुभयो ।
आफ्नो स्वास्थ्य सुरक्षाप्रति सावधानी अपनाउँदै कोभिड–१९ सङ्क्रमित र तीनका परिवारप्रति सकारात्मक एवं सहयोगी व्यवहार गर्न र नगर क्षेत्रभित्र सञ्चालित सबै प्रकारका निर्माण कार्य, ठेलागाडा, साइकललगायतका साधनमार्फत तथा फुटपाथमा गरिने व्यापार व्यवसायमा पनि मिति २०७७।०४।२७ गतेदेखि २०७७।०५।१५ गते सम्मका लागि रोक लगाइएको नगरपालिकामा कार्यरत अधिकृत जगतबहादुर कटुवालले जानकारी दिनुभयो ।
अत्यावश्यक कामका लागि घर बाहिर निस्कनु पर्दा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न, मास्कको प्रयोग उचित तरिकाले गर्न, बेलाबेलामा साबुन पानीले मिचीमिची हात धुन वा हयाण्ड स्यानिटाइजरको प्रयोग गर्न, हरेक व्यक्तिबाट कोभिड सर्ने शङ्का गर्दै कम्तीमा २ मिटरको भौतिक दूरी कायम गर्न पनि भनिएको छ ।
मानव जातिविरुद्धको यस विषम परिस्थितिबाट सिर्जित चुनौतीको सामना गर्न सबै एकजुट भएर आ–आफ्नो स्थानबाट सचेतता एवं सावधानीपूर्वक योगदान गर्नसमेत आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्