निरीशा अर्को हिन्दी सिरियलमा



रश्मी थापा
फिल्म क्षेत्रमा नाम कमाउन चाहने सबैको स्वप्न नगरी बलिउड फिल्म नगरीमा रहेर अभिनय क्षेत्रमा संघर्ष गरिरहेकी नायिका निरीशा बस्नेत छिट्टै एक नयाँ हिन्दी सिरियलमा देखिने भएकी छिन्। सब टिभीबाट प्रसारण हुने तेनाली रामा नामक सिरियलको केही दिनभित्रै प्रोमो रिलिज हुने निरीशाले नेपाल समाचारपत्रलाई बताइन्।
हिस्टोरिकल फिक्सनमा आधारित उक्त सिरियलमा आफू केमियो भूमिकामा रहेको र आफ्नो इन्ट्रीपश्चात् कहानीमा ट्विस्ट आउने निरीशाले बताइन्।

अभिमन्यु सिंहको प्रोडक्सन हाउसले निर्माण गरिरहेको सिरियलमा आफ्नो भागको छायांकन गरिसकेको निरीशाले मुम्बईबाट कुरा गर्दै जानकारी गराइन्। केही वर्षअघि स्टार प्लसबाट प्रसारण भएको सिरियल चन्द्र नन्दिनीमा काम गरेकी निरीशा उक्त सिरियलपछि नेपाली फिल्म जानी नजानीमा अभिनेत्रीको अफर आएकाले नेपाल आएकी थिइन्।

मुम्बईमा काम गरिसकेकी निरीशाको अभिनयको तारिफ नेपालमा पनि भएको थियो। जानी नजानीमा गरेको अभिनयका कारण उनी कामना फिल्म अवार्डस्–२०७६ को सर्वोत्कृष्ट नवनायिकाको मनोनयनमा समेत परेकी थिइन्। आफूले फिल्ममा निकै मेहनत गरे पनि व्यापारिकरूपमा सफल हुन नसकेकोमा दुःख लागेको निरीशा बताउँछिन्। ‘फिल्मका लागि केवल तीन महिना भनिएको थियो तर सुटिङ र प्रमोसन गरी एक वर्ष नै लाग्यो।

फिल्म राम्रोसँग नचल्दा र निरीशाको पहिलो फिल्म नै चलेन भन्ने न्युज आउँदा मलाई कति दुःख महसुस भयो होला। तर, फिल्म नचले पनि अभिनयचाहिँ राम्रो छ भन्ने समाचारले खुसी पनि लाग्यो। फिल्मको प्रमोसन नै राम्रोसँग नभएकाले पनि फिल्म नचलेको भन्ने लाग्छ।’ –उनी भन्छिन्।

कमाइको हिसाबले भारतीय सिरियलमा केही भाग काम गर्नु र नेपाली सिनेमामा एक वर्ष काम गर्नु बराबर भएको निरीशाको अनुभव छ। ‘हुन त मैले नेपालमा एउटै मात्र फिल्ममा काम गरेें, तर नेपालमा एउटा फिल्ममा एक वर्ष समय दिँदा अनि मुम्बई आऊ–जाऊ गरिरहँदा र अन्य खर्च फिल्मको पारिश्रमिकले पुग्दैनथ्यो। फेरि मेरो नेपालमा अन्य व्यवसाय पनि थिएन। तर, मैले पैसाको मुख हेरिनँ। जति सक्दो फिल्ममा मेहनत गरें। नाम र इज्जतका लागि नेपाली फिल्ममा काम गरेको थिएँ।’ –अभिनेता तथा निर्माता निर्देशक विश्व बस्नेत पुत्रीले भनिन्।

फिल्मका लागि नेपाल बस्दा बलिउडमा कयौं अवसर छुटेको निरीशाको अनुभव छ। ‘जति समय नेपाल बसें, त्यो समय म इन्डियामै भएको भए अन्य प्रोजेक्टमा काम गरिरहेको हुन्थें। मुम्बई फर्केपछि सेटल हुन फेरि स्ट्रगल गर्नुप¥यो, अहिलेको अवस्थामा काम पाउनु नै ठूलो कुरा हो।’ –उनले सुनाइन्। केही समय स्वतन्त्र मोडलका रूपमा काम गरेकी निरीशा एक वर्षदेखि मोडलिङ एजेन्सी तोआबसँग आबद्ध भएर मोडलिङ गरिरहेकी छिन्। ‘यहाँ ठूला ब्रान्ड हुने भएकाले मोडलिङमा निकै राम्रो कमाइ हुन्छ। मोडलिङसँगै विभिन्न प्रोजेक्टमा अडिसन दिइरहेको हुन्छु। अडिसनका लागि पनि धेरै पैसा खर्च हुन्छ। मोडलिङबाटै कमाएको पैसाबाट सस्टेन भइरहेको छु र अडिसन दिइहेको छु। यहाँ निकै ठूलो कम्पिटिसन हुन्छ, कम्टिसनमा भिडेर काम पाउनु लकको कुरा हो।’ –निरीशाको अनुभव छ।

निरीशाका अनुसार उनले प नि बलिउड फिल्मको सपना देखेकी छिन्। ‘तर यहाँ स्क्रिप्टअनुुसारको अनुहार खोजिएको हुन्छ। हामी नर्थ इस्ट अनुहारको क्यारेक्टर कमै खोजिएको हुन्छ।’ –उनी भन्छिन्। त्यसो त एक साउथ फिल्मको आइटम गीतको छायांकनका लागि निरीशा चेन्नई गएकी थिइन्, तर कोभिड–१९ का कारण लकडाउन भएपछि उक्त गीतको छायांकन रोकिएको उनले जानकारी गराइन्।

प्रतिक्रिया दिनुहोस्