धादिङका कोरोना संक्रमित व्यक्तिको मृत्यु



सीताराम अधिकारी,धादिङ ।

धादिङको नीलकण्ठ नगरपालिका वडा नं १४ धुवाकोटका एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । काठमाडौंको ह्याम्स अस्पतालमा श्वासप्रस्वास र फोक्सो उपचारका लागि भर्ना भएका ३५ वर्षीय तुलबहादुर गुरुङको मृत्यु भएको संगै उपचारका लागि पुगेका श्याम गुरुङले जानकारी दिनुभयो ।

धादिङ अस्पतालमा बहिरंग सेवा अन्तरगत टिकट लिएर साउन २६ गते अस्पताल आएका गुरुङ सोही दिन धादिङ अस्पतालले प्रेषण गरेपछि काठमाण्डौ लगिएको थियो ।

काठमाण्डौको बिर अस्पताल र शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गर्न नपाएपछि ह्याम्स अस्पताल लगिएको पारिवारिक श्रोत जनाएको छ । अस्पताल भर्ना भएर उपचारको क्रममा साउन २७ गते बिहान गुरुङको मृत्यु भएको र मृत्युपछि स्वाब परिक्षणको प्रतिवेदन आउँदा कोरोना संक्रमण देखिएको हो ।

धादिङ अस्पतालमा उपचारका लागि आएको र स्वासप्रस्वासमा समस्या आएपछि काठमाण्डौ प्रेषण गरिएको विरामीको कोरोना संक्रमणका कारण मृत्यु भएको धादिङ अस्पतालका सूचना अधिकारी विक्रम विकले जानकारी दिनुभएको छ । कोरोना संक्रमितको मृत्यु धादिङ जिल्लाको पहिलो घटना हो ।

प्रतिक्रिया दिनुहोस्