घुस खाने प्रहरी धमाधम निलम्बित



न्युज अफ नेपाल,हेटौंडा ।

आफूलाई दिइएको जिम्मेवारी आर्थिक प्रलोभनमा परेर इमान्दारितासाथ निर्वाह नगर्ने थप ६ प्रहरीलाई निलम्बन गरिएको छ । उनीहरुसँगै निलम्बित हुनेमा बुधबारसम्म एक प्रहरी निरीक्षकसहित ११ जना पुगेका छन् ।बागमती प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीसँग रकम लिँदै गरेको अबस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका ५ र जिल्ला प्रहरी कार्यालय काभ्रेका कार्यरत् १ प्रहरीलाई सवारीचालकसँग विभिन्न बहानामा रकम लिएको भेटेपछि नियन्त्रणमा लिएर प्रदेश प्रहरी कार्यालय हेटौंडामा झिकाएकोमा उनीहरुका सम्बन्धमा थप छानबिन गर्न हाललाई निलम्बन गरिएको प्रदेश प्रहरी कार्यालय हेटौंडाका सूचना समन्वय अधिकृत प्रहरी निरीक्षक रोशन थापाले बताउनुभयो ।

निलम्बन पर्नेमा २ प्रहरी हवल्दार र चार प्रहरी जवान छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुली र सोअन्तर्गत् कार्यालयमा कार्यरत् प्रह राजकुमार श्रेष्ठ, प्रह डोरबहादुर कार्की, प्रज कुमारबाबु सिंह, धिरेन्द्र साह, रामकुमार थापा र जिल्ला प्रहरी कार्यालय काभ्रेअन्तर्गत् इप्रका मंगलटारमा कार्यरत् प्रज नवीनबहादुर थापालाई निलम्बन गरिएको हो ।

निलम्बनमा पर्ने प्रहरी प्रहरी कार्यालय सिन्धुली, इलाका प्रहरी कार्यालय भिमान, खुर्कोट, मंगलटार, प्रहरी चौकी ढुंग्रेबास र अस्थायी ट्राफिक प्रहरीपोष्ट भिमानमा कार्यरत् थिए । निलम्बित प्रहरीका सम्बन्धमा थप छानबिन गर्न प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रहरी नायब उपरीक्षक विज्ञान बस्नेतको संयोजकत्वमा तीन सदस्यीय छानबिन टोली गठन गरेको छ ।

आफ्नो ड्युटीमा इमान्दारिता प्रदर्शन गर्ने प्रहरीलाई पुरस्कृत गर्ने र गैरव्याबसायिक कार्यमा संलग्नलाई कारबाही गरी प्रहरी सेवालाई मर्यादित बनाउने कार्यलाई बागमती प्रदेश प्रहरीले विशेष अभियानका रुपमा सञ्चालन गरेको छ ।ड्युटीमा बसेका प्रहरीलाई घुस दिन खोज्ने व्यक्तिलाई घुसवापत् रकमसहित पक्राउ गरी कानुनबमोजिम कारबाहीको दायरामा ल्याउने १ प्रहरीलाई बागमती प्रदेश प्रहरी कार्यालयले बुधबार पुरस्कृत गरेको छ ।

आफ्नो ड्युटीमा इमान्दारिता प्रदर्शन गर्ने अस्थायी ट्राफिक प्रहरीपोष्ट भिमान, सिन्धुलीमा कार्यरत् प्रहरी हवल्दार ओमनारायण महतो छन् । ड्युटीमा बसेका प्रहरीलाई बिलबुकभित्र ३ सय रुपियाँ राखी प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेपछि घुसवापत् रकम र बोलेरोचालकलाई नियन्त्रणमा लिएर कारबाहीका लागि बुझाएका प्रहरी हवल्दारलाई पुरस्कृत गरिएको हो । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्ने बोलेरोचालकलाई नियमानुसार जरिवाना गरिएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालयअन्तर्गत् कार्यालयमा कार्यरत् प्रहरीबाट नागरिककेन्द्रित, स्तरीय, प्रभावकारी र पारदर्शी सेवाप्रवाह गराउने उद्धेश्यले प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाबाट कार्ययोजना बनाएर मातहत प्रहरीबाट सम्पादन भइरहेका कार्य अनुगमन र मूल्यांकन गर्न सिनियर प्रहरी अधिकृतको कमाण्डमा टास्कफोर्स गठन गरिएको छ ।

सेवाग्राहीसँग आर्थिक प्रलोभनमा पर्ने एक प्रहरी निरीक्षकसहित ११ प्रहरी निलम्बित भइसकेका छन् भने ड्युटीमा इमान्दारिता प्रदर्शन गर्ने २५ प्रहरी पुरस्कृत भएको सूचना समन्वय अधिकृत प्रनि थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्