तंग्रिँदै गरेका होटल फेरि थलिए



न्युज अफ नेपाल,हेटौंडा ।

उत्तरी मकवानपुरको थाहानगर–४ मा पर्ने चिसो क्षेत्र सीमभञ्ज्याङका सबै होटल तथा पसल सोमबारदेखि बन्द भएका छन् । मकवानपुरमा कोरोनाको जोखिम बढ्दै गएपछि सीमभञ्ज्याङमा स्थानीय व्यबसायी, बजार व्यबस्थापन समितिका पदाधिकारी, सुरक्षा निकायलगायतको बैठकले यस्तो निर्णय गरेको हो । हेटौंडातर्फबाट थाहानगर प्रवेश गर्ने सीमभञ्ज्याङ मुख्य नाका हो ।

कोरोनाको जोखिम नघटुञ्जेलसम्म सीमभञ्ज्याङ क्षेत्रका पसल बन्द गर्ने निर्णय भएको बजार व्यबस्थापन समिति अध्यक्ष अमित पाख्रिनले जानकारी दिनुभयो । मकवानपुरको पर्यटकीय क्षेत्र दामनका होटलहरु ४ महिनाको बन्दाबन्दीपछि खुल्न थालेका थिए । पर्यटकीय दृष्टिले महत्वपूर्ण दामनसहित थाहानगरको पालुङ, टिस्टुङ र चित्लाङका होटलहरु आंशिक खुलेका थिए ।

थाहा होटल एसोसिएसन अध्यक्ष शिवकुमार खत्रीले सरकारले असार २६ गतेबाट बन्दाबन्दी खोले पनि होटलहरु भने स्वास्थ्य सुरक्षाका उपाय अपनाएर साउन १५ गतेबाट सञ्चालनमा ल्याउन सकिने निर्णय गरेअनुसार दामनका होटलहरु खुलेको बताउनुभयो ।
थाहा होटल एसोसिएसनको साउन १ गतेको बैठकले साउन १५ गतेबाट एसोसिएसनआवद्ध होटलहरु स्वास्थ्य सुरक्षा अपनाएर पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।

वर्षायाम भएको र लामो दुरीका सवारी सञ्चालनमा नआएका कारण अपेक्षाकृत पर्यटकको संख्या भने कम थियो ।कोरोना रोकथाम तथा नियन्त्रणका लागि आमनागरिक सचेत भएर व्यबहार गर्न नगरपालिकाले अनुरोध गरेको छ । सवारीसाधन, होटल व्यबसाय सञ्चालनलगायत क्षेत्रमा कोभिड–१९ सुरक्षा मापदण्ड अक्षरशः कार्यान्वयन गर्न पालिकाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्