अभिनेत्रीद्वारा आत्महत्या प्रयास



दक्षिण भारतीय फिल्म उद्योगकी चर्चित अभिनेत्री विजयलक्ष्मीले आत्महत्याको प्रयास गरेकी छिन्। उनलाई एक निजी अस्पतालमा भर्ना गरिएको अमर उजालाले जनाएको छ।

उनी केही दिनदेखि तनावमा थिइन् भन्ने उनले सामाजिक सञ्जालमा पोस्ट गरेका विभिन्न भिडियोबाट प्रस्ट हुने समाचारमा उल्लेख छ।

विजयलक्ष्मीले पोस्ट गरेका भिडियोहरूमा आफँ निकै तनावमा रहेको बताउने गरेकी थिइन्। उनले आइतबार पोस्ट गरेको भिडियोमा आफँले उच्च रक्तचापको केही औषधि खाएको जनाएकी छिन्। यो कुरा बाहिर आउनेवित्तिक्कै उनलाई अस्पताल लगिएको समाचारमा जनाइएको छ।

भिडियोमा उनले यो नै आफ्नो अन्तिम भिडियो भएको र आफँ पछिल्लो चार महिनादेखि तमिल नेसनलिस्ट पार्टीका नेता सिमान तथा उनको पार्टीमा आबद्ध मानिसबाट तनावमा रहेको बताएकी थिइन्। ‘मैले आफ्नो परिवारका लागि जिउँदो रहने कोशिस गरें। तर, यस्तो हुन सकेन।’ –उनले भिडियोमा भनेकी छिन्।

भिडियोमा उनले उक्त पार्टीमा आबद्ध हरिनारद नामका व्यक्तिले मिडियामा आफ्नो ज्यादै अपमान गरेको समेत बताएकी थिइन्। ‘म अब ब्लड प्रेसरको औषधिहरू खानेछु, जसका कारण मेरो प्रेसर कम हुनेछ र मेरो मृत्यु हुनेछ।’ उनले भिडियोमा भनेकी थिइन्। हाल उनको उपचार चलिरहेको समाचारमा जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्