भक्तपुरमा फेरि गुन्जियो: ऋतुहरूमा तिमी हरियाली वसन्त हौ



ख्यातिप्राप्त गायक तथा संगीतकार स्व. अरूण थापाको सम्झना गरिएको छ। शुभारम्भ द म्युजिकल जर्नीको प्रस्तुति एवं भक्तपुर सांगीतिक समाजको आयोजनामा गायक थापाको २१औं स्मृति दिवस पारेर सोमबार भक्तपुरमा उनको सम्झनामा कार्यक्रम गरिएको हो।

विषम परिस्थितिका कारण सामाजिक दूरी कायम गरी सामाजिक सञ्जालबाट प्रत्यक्ष प्रसारण गरिएको कार्यक्रममा अरूण थापाका ९ लोकप्रिय गीत ट्र्याकमा गाएर प्रस्तुत गरिएको थियो। भक्तपुरका स्थानीय कलाकारहरू गौतम श्रेष्ठ, विनय कोजू, अञ्जना श्रेष्ठ, नवीन्द्रलाल कर्माचार्य, गंगाराम रञ्जितकार, प्रवीण शाही, सहकुल अच्छामी, रामहरि ताम्राकार, अधिश्री कसपाल, सर्वश्री कसपाल र रोशन धौभडेलले गायक थापाका विभिन्न कालजयी गीत गाएर सुनाएका थिए।

कार्यक्रममा कलाकारहरूले थापाका करोडौं मुटुहरूको एउटै, चोट के हो, जति माया लाए पनि, म रोए पनि, दोष कसैलाई दिन चाहन्न, आँखाको निद, ऋतुहरूमा तिमी, लाग्न थाल्यो जीवनमा, सा“झको जुनसँगै बोलका गीत प्रस्तुत गरेका थिए। गायक थापा आजभन्दा २१ वर्षअघि साउन ५ गते क्यान्सर रोगका कारण ४७ वर्षको अल्पायुमै यो संसारबाट बिदा भएका थिए। उनका बिछोड र वेदनाका गीत पर्यायका रूपमा अमर रहँदै आएको छ।

समारोहलाई सम्बोधन गर्दै समाजका सल्लाहकार तथा गीतकार सुवासचन्द्र ढुंगेलले मान्छेको मूल्यांकन गर्दा नराम्रा पक्ष मात्र नभई राम्रा पक्ष पनि हेरिनुपर्ने चर्चा गरे। ‘स्वर्गीय थापाका धेरै राम्रा पक्ष र थोरै नराम्रा पक्ष थिए। नेपालको सांगीतिक इतिहासमा थोरै गीत गाएर पनि अत्यधिक चर्चित हुनुभएका निकै कम गायकमा अरूण थापा पर्नुहुन्छ।’ –उनले भने।

समाजका सल्लाहकार तथा प्राज्ञ ध्रुव मधिकर्मीले कला र कलाकारितामा भक्तपुरपछि नभएको चर्चा गरे। कार्यक्रमका संयोजक संगीतकर्मी अल्बर्ट वज्राचार्यले लकडाउनका कारण सामाजिक दूरी कायम गरी कार्यक्रम आयोजना गर्न सफल भएको बताए।

‘विषम परिस्थितिका कारणले हामीले यो वर्ष स्रष्टा सम्मान गर्न सकेनौं, आगामी वर्षदेखि कार्यक्रममा स्रष्टा सम्मानलाइ निरन्तरता दिनेछौं’ –उनले भने। शुभारम्भ द म्युजिकल जर्नीले भक्तपुर सांगीतिक समाजसँग सहकार्य गरेर गायक अरूण थापालाई स्मरण गर्दै कार्यक्रम आयोजना गर्न थालेको यो तेस्रो अवसर हो।

प्रतिक्रिया दिनुहोस्