चेल्सी एफए कप फुटबलको फाइनलमा



एजेन्सी ।

प्रिमियर लिग क्लब चेल्सी इंग्लिस नकआउट फुटबल प्रतियोगिता एफए कपको फाइनल प्रवेश गरेको छ ।

प्रतियोगिता अन्तर्गत सोमबार बिहान वेम्बली रंगशालामा भएको दोस्रो सेमिफाइनलमा चेल्सीले लिग प्रतिस्पर्धी टिम म्यानचेस्टर युनाइटेडलाई ३/१ अन्तरले हराउँदै फाइनल प्रवेश गरेको हो । युनाइटेडका गोलकिपर डेडिभ डि जियाले पटक–पटक गल्ती गर्दा युनाइटेडले हारको नतिजा बेहोर्नु परेको थियो ।

युनाइटेडले बेहोरेको तीनमध्ये दुई गोल किपर डि जियाको गल्तीका कारण भएको थियो । दुवै पटक बल रोक्नेक्रममा हातबाट फुत्काएपछि युनाइटेडले अनपेक्षित गोल बेहोरेको थियो । चेल्सीका लागि पहिलो हाफको इन्जुरी समयमा ओलिभर जिरुउडले गोल गरेका थिए ।

त्यसपछि दोस्रो हाफ सुरु हुनासाथ चेल्सीका लागि युवा खेलाडी मासोन मोउन्टले गोल गरे । उनको प्रहार युनाइटेडका गोलकिपर डि जियाको हातबाट फुत्किएर पोस्टमा छिरेको थियो । त्यसपछि ७४औं मिनेटमा युनाइटेडका कप्तान ह्यारी मागुइरेले आत्मघाती गोल गरे । बक्समा बल क्लियर गर्नेक्रममा उनले आफ्नै पोस्टमा गोल गरेपछि चेल्सीले ३/० को सहज अग्रता बनायो ।

त्यसपछि खेलको ८५औं मिनेटमा युनाइटेडले पेनाल्टी पायो । डीबक्समा चेल्सीका खेलाडीले फाउल गरेपछि पाएको पेनाल्टीमा ब्रुनो फर्नान्डेजले गोल गरेपछि युनाइटेडले एक गोल फर्कायो ।

अब चेल्सीले उपाधिका लागि फाइनल खेलमा लिग प्रतिस्पर्धी आर्सेनलसँग भिडन्त गर्नेछ । यसअघि आइतबार बिहान भएको पहिलो सेमिफाइनलमा म्यानचेस्टर सिटीलाई २-० ले हराएर आर्सेनल नै फाइनल पुगिसकेको छ । फाइनल खेल अगस्ट १ तारिखमा हुनेछ

प्रतिक्रिया दिनुहोस्